काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौमा भएको उपद्रवमा को–को संलग्न थिए भन्ने कुरा बिस्तारै खुल्दै गएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले केही शक्तिहरू नेपाललाई अराजकता र अन्धकारतर्फ धकेल्ने प्रयासमा सक्रिय रहेको आरोप लगाए।
ओलीले विधि, पद्धति र प्रक्रियाभन्दा बलजफ्तीको बाटोबाट मुलुक चलाउने प्रयास भइरहेको बताए। संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउनकै लागि गत भदौ २३ र २४ गतेको घटना गराइएको उनको दाबी छ। उनले भने, ‘लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीबाट चल्ने कुराहरूलाई तोड्नकै लागि गत वर्ष भदौ २३–२४ गतेको षड्यन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा। अहिले को–को संलग्न थिए, के–के संलग्न थिए, खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्।’
ओलीले मुलुकमा अराजकता बढ्दा हिंसा, अकर्मण्यता, गैरजिम्मेवारी र दिशाहीनता बढ्ने बताए। नेपाललाई ‘कुबातो’तर्फ धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको उनको आरोप छ।
उनले निर्वाचनका क्रममा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत नेपालमा असत्य सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्ने प्रयास गरेको आरोप लगाए। उनले भने, ‘आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको त हामीले देख्यौँ।’
ओलीले विभिन्न अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धानका रिपोर्ट, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले पनि यस्ता विषयहरू देखाइरहेको दाबी गरे।


