टनेल उद्धारमा २५ देखि ९३ जनासम्मका संयुक्त टोली परिचालन

हिमाल प्रेस १८ भदौ २०८३ १२:४० | Thursday, September 3, 2026
टनेल उद्धारमा २५ देखि ९३ जनासम्मका संयुक्त टोली परिचालन

काठमाडौँ- नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ १८ गते बिहान ११ बजेसम्म प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको हो।

लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटर प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ।

त्रिशूली-३ ‘ए’ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्स्काभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाएको छ। राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउनमा ब्लास्टिङ गरी सफा गर्ने काम भइरहेको छ।

त्यस्तै, त्रिशूली-३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली उद्धारमा खटिएको छ। टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्न एक्स्काभेटर र बबक्याट प्रयोग गरेर बाटो बनाउने तथा माटो हटाउने काम गरिरहेको छ।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउँदै नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य गरिरहेको छ। चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित नागरिकलाई स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको सेनाले जनाएको छ।

त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य भइरहेको छ। नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोलीले स्याफ्रुवेशी क्षेत्रमा समेत उद्धार कार्यलाई निरन्तरता दिएको छ।

नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सम्भावित सङ्क्रमण फैलिन नदिन चिकित्सक अधिकृतहरूले सचेतनामूलक कक्षा सञ्चालन गरेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।

यसैबीच, प्रधानसेनापति अशोकराज सिग्देलले त्रिशूली तथा टनेल उद्धारलगायत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको संयुक्त खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्। उनले सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।

प्रकाशित: १८ भदौ २०८३ १२:४० | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast