शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ

हिमाल प्रेस १७ भदौ २०८३ १५:०७ | Wednesday, September 2, 2026
शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ

काठमाडौँ- शिक्षक तथा कर्मचारीका समस्या, विद्यालय शिक्षा विधेयकलगायत समसामयिक विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल शिक्षक महासंघबीच बुधबार छलफल भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भएको भेटघाटमा महासंघले मन्त्रालयसमक्ष पेस गरेको ५४ बुँदे मागपत्र, विद्यालय शिक्षा विधेयक तथा शिक्षक कर्मचारीका विभिन्न समस्या र त्यसको समाधानका विषयमा छलफल भएको हो।

छलफलमा नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल शिक्षक संगठनका शंकर अधिकारी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत सहभागी थिए।

छलफलपछि संघका अध्यक्ष गिरीले महासंघले उठाएका माग तथा विद्यालय शिक्षा विधेयकसहित सबै विषयमा खुला रूपमा छलफल गर्न मन्त्री पोखरेलले आग्रह गरेको बताए। उनका अनुसार मन्त्री पोखरेलले मन्त्रालय र महासंघबीचको संवादलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

‘सबै विषयलाई खुला रूपमा छलफल गरौँ र संवादलाई निरन्तरता दिऔँ भन्ने मन्त्रीज्यूको भनाइ थियो,’ गिरीले हिमालप्रेससँग भने।

महासंघले पनि आफूहरू संवादका लागि जहिल्यै तयार रहेको स्पष्ट पारेको उनले बताए। पछिल्लो समय मन्त्रालयले महासंघलाई निषेध गर्न खोजेको हो कि भन्ने आशंका उत्पन्न भएकाले आफूहरूले त्यसतर्फ सजग गराएको गिरीको भनाइ छ।

यसैबीच,शिक्षक महासंघका वर्तमान अध्यक्ष सुवेदी भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। सुवेदीको अवकाशसँगै महासंघको अध्यक्ष पदमा शिक्षक संघका तर्फबाट नयाँ प्रतिनिधि पठाउने प्रक्रिया अघि बढ्ने भएको छ।

नयाँ अध्यक्षका लागि नाम सिफारिस गर्ने विषयमा नेपाल शिक्षक संघले असोजको पहिलो साता बैठक बोलाउने तयारी गरेको अध्यक्ष गिरीले जानकारी दिए।

प्रकाशित: १७ भदौ २०८३ १५:०७ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast