रसुवा बाढी : नेपाली सेनाद्वारा १०५ जनाको हवाई उद्धार, निजी हेलिकप्टर सरकारी समन्वयमा मात्रै सञ्चालन हुने

हिमाल प्रेस ११ भदौ २०८३ १०:४९ | Thursday, August 27, 2026
रसुवा बाढी : नेपाली सेनाद्वारा १०५ जनाको हवाई उद्धार, निजी हेलिकप्टर सरकारी समन्वयमा मात्रै सञ्चालन हुने

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।

नेपाली सेनाका हेलिकप्टरमार्फत बिहीबार बिहानदेखि हालसम्म १५ विदेशी नागरिकसहित १०५ जनाको हवाई उद्धार गरिएको छ भने निजी हेलिकप्टरलाई पनि सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टिमुरे क्षेत्रबाट १५ विदेशीसहित ९८ जनाको तथा मैलुङस्थित टनेल क्षेत्रबाट थप ७ जनाको उद्धार गरिएको हो।

प्रभावित क्षेत्रमा घाइतेहरूको जमिन तथा हवाई मार्गबाट उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम समन्वयात्मक रूपमा भइरहेको सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयबिना सञ्चालन नगर्न निर्देशन दिएको छ।

प्रभावित क्षेत्रमा जथाभावी उडान हुँदा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको हो।

प्राधिकरणले हेलिकप्टरमार्फत खोज तथा उद्धार आवश्यक परे सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले निर्णय गरेर व्यवस्थित रूपमा सञ्चालन गर्न भनेको छ।

सेनाको हेलिकप्टर आवश्यक परे सम्बन्धित जिल्लामा रहेको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने र निजी हेलिकप्टर आवश्यक परे प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

प्राधिकरणले सम्भावित हेलिकप्टर दुर्घटना तथा अन्य प्राविधिक समस्या रोक्न हवाई उद्धारलाई एकीकृत समन्वय प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।

प्रकाशित: ११ भदौ २०८३ १०:४९ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast