कर्णेलको पेन्सन र डिनको तलब दुवै लिँदै कुसोमका कामु डिन श्रेष्ठ

हिमाल प्रेस ९ मंसिर २०८३ १८:५९ | Wednesday, November 25, 2026
कर्णेलको पेन्सन र डिनको तलब दुवै लिँदै कुसोमका कामु डिन श्रेष्ठ

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) का नवनियुक्त कामु डिन अर्जुनकुमार श्रेष्ठले सरकारी पेन्सन र डिन पदको तलब गरी दोहोरो सुविधा लिइरहेको पाइएको छ।

नेपाली सेनाको प्राविधिक कर्णेल पदबाट अवकाश पाएपछि १३ वर्षअघि कुसोममा अध्यापन सुरु गरेका श्रेष्ठले पूर्णकालीन सार्वजनिक प्रशासनिक जिम्मेवारीमा पुगेपछि पनि दुवै सुविधा लिइरहेको स्वीकार गरेका छन्।

व्यवस्थापन वा अर्थशास्त्रजस्ता सम्बन्धित विषयमा उच्च शैक्षिक योग्यता नभएका श्रेष्ठले दुई वर्षअघि मात्र कुसोमबाट अध्यात्म चिन्तन विषयमा विद्यावारिधि (पीएचडी) पूरा गरेका हुन्।

गत वर्ष सहप्राध्यापक नियुक्त भएका उनी व्यवस्थापन विषयमा उच्च शिक्षा प्रदान गर्ने देशकै प्रतिष्ठित संस्थाको नेतृत्वमा पुगेपछि उनको शैक्षिक पृष्ठभूमि र नियुक्तिको योग्यतामाथि प्रश्न उठेको छ।

नेपालको अर्थतन्त्र तथा उद्योग व्यवसायको क्षेत्रमा समेत उनको परिचय स्थापित नभएको अवस्थामा उनलाई डिनको जिम्मेवारी दिइएको हो। त्यसमाथि आगामी मंसिरमै ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने अवस्था छ।

विश्वविद्यालय नेतृत्वसँग निकट मानिएका केही पीएचडी उम्मेदवारको रोकिएको प्रक्रिया अघि बढाउन उनलाई डिनको जिम्मेवारी दिइएको आरोपसमेत लागेको छ।

डिन नियुक्तिका लागि अनिवार्य रूपमा प्राध्यापकसरहको योग्यता हुनुपर्ने व्यवस्था भए पनि उक्त मापदण्ड पूरा नगरी उनलाई जिम्मेवारी दिइएको बताइएको छ।

कामु डिनका रूपमा नियुक्त भए पनि श्रेष्ठले काठमाडौँ विश्वविद्यालय ऐनको दफा १६ अनुसार तीन वर्षका लागि विधिवत् नियुक्त डिनसरह अधिकार प्रयोग गरिरहेको पाइएको छ। उनले चेकमा हस्ताक्षर गर्नेलगायत आर्थिक कारोबारसमेत गरिरहेका छन्।

‘अर्को व्यवस्था नभएसम्मका लागि’ नियुक्त भएका श्रेष्ठले आफ्नो नियुक्तिलाई अवकाशको उमेर हदले असर नगर्ने दाबी गरेका छन्। उपकुलपति विवेक बरालले आफूलाई तीन वर्ष नै डिनका रूपमा काम गर्ने जिम्मेवारी दिएको उनको भनाइ छ। यही आधारमा उनले स्कुलभित्र आफ्नो समूह बनाएर विभिन्न लाभको आश्वासन बाँड्न थालेको आरोपसमेत लागेको छ।

हिमालप्रेससँगको कुराकानीमा श्रेष्ठले आफूले पहिलेदेखि नै सरकारी पेन्सन र कुसोमको तलब दुवै लिइरहेको स्वीकार गरेका छन्। उनले कानुनले दोहोरो सुविधा लिन बाधा नपुर्‍याउने जिकिरसमेत गरेका छन्।

तर, २०७२ माघ ८ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित नियमअनुसार सार्वजनिक लाभको पद वा सरकारी सेवामा मासिक पारिश्रमिक पाउने गरी नियुक्त हुने पदाधिकारीले नयाँ नियुक्तिको एक महिनाभित्र मासिक पारिश्रमिक वा निवृत्तिभरणमध्ये जुन बढी हुन्छ त्यही रोजेर लिनुपर्ने व्यवस्था छ।

कुसोमको लेखा शाखाबाट प्राप्त जानकारीअनुसार श्रेष्ठले यसअघि दोहोरो सुविधा लिँदै आएको रकम करिब एक करोड रुपैयाँ हाराहारीमा छ।

सरकारी पेन्सनसमेत बुझिरहेका उनले आगामी अवकाशपछि थप उपदान कसरी लिने र नियमविपरीत लिएको रकम विश्वविद्यालयले कसरी फिर्ता गराउने भन्ने प्रश्नसमेत उठेको छ।

प्रकाशित: ९ मंसिर २०८३ १८:५९ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast