आईजीपीमा पुनर्वहाली गर्न कार्कीको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हिमाल प्रेस ९ मंसिर २०८३ १८:१७ | Wednesday, November 25, 2026
आईजीपीमा पुनर्वहाली गर्न कार्कीको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश दानबहादुर कार्की। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्वहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

संयुक्त इजलासले रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरूपण हुने प्रकृतिको विषय भन्दै तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

आदेशमा निवेदकले अन्तरिम आदेश माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको उल्लेख गरिएको छ।

रिट निवेदनमा उठाइएका विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दा छोटो सुनुवाइबाट निर्णय हुन वाञ्छनीय देखिएको तथा प्रत्यर्थीहरूबाट लिखित जवाफ पेस भएपछि थप सुनुवाइ गर्न सकिने भएकाले तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरिएको हो।

सर्वोच्चले लिखित जवाफ पेस भएपछि वा पेस गर्ने अवधि व्यतीत भएपछि सात दिनभित्र पेसी चढाउन दुवै पक्षलाई नियमानुसार सूचना दिन आदेश गरेको छ।

संयुक्त इजलासमा न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेल रहेका थिए। आदेशमा प्रहरी संगठनको नेतृत्व तथा नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित विषय भएकाले यसको महत्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राखी रिट निवेदनको अन्तिम सुनुवाइमा निरूपण हुने गरी अघि बढाइएको उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०८३ १८:१७ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast