काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्।
शनिबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताए। अदालतमा भ्रष्टाचार र बिचौलियाको खेल हुनु दुर्भाग्यपूर्ण भएको र सर्वोच्च अदालतसम्म पुग्दा यस्ता विषयले झन् ठूलो रूप लिनु चिन्ताजनक रहेको उनले बताए।
उनले न्यायाधीशको आचरण, फैसला र आदेशहरू अस्पष्ट नभई जनताले बुझ्ने गरी स्पष्ट हुनुपर्ने र यसमा कुनै सम्झौता हुन नहुने धारणा राखे।
न्याय क्षेत्रका हरेक तह र तप्कामा कमजोरीहरू भए तिनलाई सुधार्नुपर्ने र आगामी दिनमा सर्वोच्च अदालतको कदम थप प्रभावकारी हुनुपर्ने उनले बताए।
त्यस्तै प्रस्तावित न्यायाधीश डाँगीले न्यायालय सुधारका लागि न्यायाधीश आफैँले आचारसंहिताको पालना गर्नुपर्ने, न्यायाधीशको कामकारबाहीमाथि प्रभावकारी निगरागी हुनुपर्ने लगायतका कार्ययोजना प्रस्तुत गरेका थिए।



