टनेलभित्र खोजी जारी, कति जनाको गरियो उद्धार?

हिमाल प्रेस १६ भदौ २०८३ १३:२४ | Tuesday, September 1, 2026
टनेलभित्र खोजी जारी, कति जनाको गरियो उद्धार?

काठमाडौँ- नेपाली सेनाले रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार अभियान जारी राखेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरिएको छ।

निर्देशनालयका अनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र विदेशीसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली-१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिएको छ।

त्रिशूली-३ए आयोजनामा टनेल हेड फेला परेपछि कम्प्रेसरबाट हावा दिने, टनेलभित्रको पानी निकाल्ने तथा तीन वटा एक्स्काभेटर प्रयोग गरेर पछाडीतर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोल्ने काम भइरहेको छ। रक ब्रेकरबाट टनेलमा प्रवेश गर्न सकिने स्थान बनाउन ढुंगा फुटाउने कार्य पनि जारी रहेको सेनाले जनाएको छ।

त्रिशूली-३बी आयोजनामा पनि विज्ञसहितको टोली टनेलको प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटर प्रयोग गरी खन्ने काममा जुटेको छ। सेनाका अनुसार बाढी लगत्तै गरिएको प्रारम्भिक उद्धारमा विभिन्न जलविद्युत् आयोजनाका इलाकाबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो।

उद्धार गरिएकामध्ये रसुवागढीबाट २, माथिल्लो त्रिशूली-१ बाट ३३, माथिल्लो त्रिशूली-३ए बाट २२१, माथिल्लो त्रिशूली-३बी बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ र देवघाट जलविद्युत् आयोजनाबाट ५ जना रहेका छन्।

जमिनी खोज तथा उद्धारतर्फ प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला र बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्यांकन गर्ने काम भइरहेको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन्।

यसैबीच, प्रभावित क्षेत्रमा स्वास्थ्य सुरक्षा कायम राख्न धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीको शव संकलन केन्द्र, सुनवल नगरपालिका-४ तथा मुलपानी सामुदायिक वन (शव व्यवस्थापन क्षेत्र) मा निसंक्रमण (डिसइन्फेक्ट) गरिएको छ। अन्य स्थानमा पनि स्थानीय तहसँगको समन्वयमा निसंक्रमण कार्य अघि बढाइँदै रहेको सेनाले जनाएको छ।

प्रकाशित: १६ भदौ २०८३ १३:२४ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast