रियादमा हुथीद्वारा क्षेप्यास्त्र आक्रमण, मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

हिमाल प्रेस ४ असोज २०८३ १५:२९ | Sunday, September 20, 2026
रियादमा हुथीद्वारा क्षेप्यास्त्र आक्रमण, मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी फाइल तस्बिर : एएफपी

काठमाडौँ- यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलोपटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ। आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डस्थित क्याम्प डेभिडमा बिताइरहेको सप्ताहन्तको बसाइ छोट्याएर शनिबार अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किएका छन्। ह्वाइट हाउसले उनको फिर्तीको कारण भने सार्वजनिक गरेको छैन।

शनिबार बिहान रियादमा दुईपटक ठूलो विस्फोटको आवाज सुनिएको थियो। एएफपीका पत्रकारले विमानस्थलनजिकै साउदी तेल कम्पनी अरामकोको लोगो भएको इन्धन ट्यांकीमा आगलागी भएको देखेका थिए।

साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकिएको र नष्ट गरिएको जनाएको छ।

गठबन्धनका अनुसार हुथीहरूले पश्चिमी साउदी अरबका विभिन्न सहरमा नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने प्रयास गरेका थिए। यसमा लाल सागरस्थित साउदी तेल निर्यातको महत्वपूर्ण केन्द्र यान्बु बन्दरगाह पनि समावेश थियो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी आक्रमणको जवाफमा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी दुईवटा सैन्य कारबाही गरिएको बताएका छन्। उनका अनुसार एउटा आक्रमण रियादका संवेदनशील स्थल र अर्को यान्बुस्थित अरामकोका संरचनालाई लक्षित गरिएको थियो।

रियादका बासिन्दालाई बिहान ३ः०० बज्नुअघि पठाइएको सुरक्षा सूचनामा सम्भावित हवाई खतराका कारण घरभित्रै बस्न आग्रह गरिएको थियो। त्यसपछि स्थानीय बासिन्दाले राजधानीका विभिन्न भागमा विस्फोटका आवाज सुनेको बताएका छन्।

यो घटनाअघि साउदी अरबले हुथीहरूले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको आरोप लगाएको थियो। हुथीहरूले भने उक्त आरोप अस्वीकार गर्दै त्यसलाई झुटो दाबी बताएका छन्।

सन् २०१४ मा हुथीहरूले राजधानी साना लगायतका क्षेत्र कब्जा गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो। त्यसको एक वर्षपछि साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो। सन् २०२२ मा भएको युद्धविराम कमजोर रूपमा कायम रहे पनि जुलाईमा पुनः द्वन्द्व चर्किएको छ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका अनुसार वासिङ्टनले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन सहयोग गर्ने उद्देश्यले २४ अर्ब ३० करोड डलर मूल्यका ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्न स्वीकृति दिएको छ।- रासस/एएफपी

प्रकाशित: ४ असोज २०८३ १५:२९ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast