तस्बिर : एपी
यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन्।
आईओएमका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले विस्थापितको संख्या तीव्र रूपमा बढिरहेको बताएका छन्। उनका अनुसार सेप्टेम्बर १८ सम्म १ लाख १८ हजार ८६ जना विस्थापित रहेकोमा तीन दिनभित्रै थप ११ हजार ३५२ जना विस्थापित भएका छन्। आईओएमको पछिल्लो तथ्यांकअनुसार ताइज गभर्नरेटमा सबैभन्दा धेरै विस्थापित रहेका छन्। त्यहाँ मात्रै ७३ हजार ४९४ जना विस्थापित भएको जनाइएको छ ।
यमन सन् २०१४ देखि जारी द्वन्द्वका कारण गम्भीर मानवीय संकटमा छ । सन् २०१४ मा हुथी समूहले राजधानी सानासहित देशका केही महत्वपूर्ण क्षेत्रमा नियन्त्रण कायम गरेपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो। वर्षौँदेखि जारी युद्ध, आर्थिक संकट र पटक–पटक आउने प्राकृतिक विपत्तिका कारण यमनका लाखौँ मानिस मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन् ।
आईओएमका अनुसार आइतबार साँझसम्म यमनबाट लाल सागर पार गर्दै ३ हजार १०६ जना मानिस जिबुती पुगेका छन् ।


