तस्बिर : एपी
काठमाडौँ- इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुथीहरू अघि बढेपछि सर्वसाधारणले घर छाडेर सुरक्षित स्थानतर्फ पलायन हुनुपरेको हो।
चार महिनाकी गर्भवती इशराक अब्देल जलिल र उनका श्रीमान् मोहम्मद थाबेट पनि विस्थापित हुनेमध्येका हुन्। हुथी लडाकु नजिकिँदै गएपछि उनीहरूले पाँच किलोमिटर पैदल यात्रा गरेपछि पहाडी बाटो हुँदै करिब ६० किलोमिटर सवारी साधनमा यात्रा गरी दक्षिणपश्चिमी सहर ताइज पुगेका थिए।
थाबेटका अनुसार पछिल्लो लडाइँ सन् २०१७ को द्वन्द्वभन्दा पनि भीषण थियो। ‘घर नजिकै गोलाबारी भइरहेको थियो र विस्फोटका छर्रा उडिरहेका थिए,’ उनले भने।
ताइज पुगेपछि चिकित्सकले गर्भमा रहेको बच्चा तल सरेको जानकारी दिएपछि अब्देल जलिल थप चिन्तित भएका छन्। यसअघि पनि सोही अवधिमा उनको गर्भपतन भएको थियो। अहिले उनीहरू विस्तारित परिवारसँग एउटै घरमा बसिरहेका छन् र दिनमा दुई पटक मात्र खाना खान सक्ने अवस्थामा छन्।
थाबेटकी बहिनीले एक महिनाभन्दा बढी समयदेखि मधुमेहको औषधि किन्न नसकेको उनले बताए। उनकी बहिनी र दुई छोरीमा रक्तअल्पताको जोखिम बढाउने रक्तसम्बन्धी समस्या रहेको पनि उनले बताए।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला हेर्ने निकायका अनुसार पछिल्लो लडाइँमा आठ सर्वसाधारणको मृत्यु भएको र ३२ जना घाइते भएका छन्। युनिसेफका अनुसार विस्थापितमध्ये ५७ हजारभन्दा बढी बालबालिका छन्।
‘यो यमनले विगत केही वर्षमा देखेको सबैभन्दा तीव्र र अस्थिर विस्थापनको लहरमध्ये एक हो,’ यमनका लागि युनिसेफ प्रतिनिधि ओबिया अचिएङले भने।
उनका अनुसार परिवार प्रायःरातको समयमा अत्यन्तै कम वा कुनै पूर्वसूचनाबिना घर छाड्न बाध्य भएका छन्।
यमनमा सन् २०१४ मा हुथीहरूले राजधानी साना र उत्तरी भू–भागको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि गृहयुद्ध सुरु भएको थियो। त्यसको अर्को वर्ष साउदी अरबले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो। सन् २०२२ को युद्धविरामपछि लडाइँ केही हदसम्म रोकिएको भए पनि पछिल्लो समय पुनः चर्किएको हो।
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो द्वन्द्व सुरु हुनुअघि नै करिब ५० लाख यमनी गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए।
सहायता संस्थाले विस्थापितलाई खाद्य सामग्री, खानेपानी, सरसफाइका सामग्री, स्वास्थ्य सेवा र अस्थायी आवासको तत्काल आवश्यकता रहेको बताएका छन्। केही विस्थापित १६ घण्टाभन्दा बढी पैदल हिँडेर ताइज पुगेको र कतिपय बालबालिकामा कुपोषणका लक्षण देखिएको सहायता संस्थाले जनाएका छन्।-रासस/एपी


