काठमाडौँ – पश्चिम एसियाली देश साउदी अरब, सार्क सदस्य राष्ट्र पाकिस्तान र युरोपएसीया जोड्ने देश टर्कीबीच सामूहिक सुरक्षा तथा सहकार्य थप सुदृढ गर्ने उद्देश्यसहित ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर भएको छ।
साउदी अरबको मक्कमा शुक्रबार आयोजित शिखर बैठकमा साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
साउदीका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा टर्कीका राष्ट्रपति एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री सरिफ अगस्त ७ मा साउदी अरब पुगेका थिए।
मक्काको अल–सफा दरबारमा आयोजित ‘मक्का अल–मकर्रमा शिखर सम्मेलन फर जोइन्ट डिफेन्स’ मा तीन देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो।
सम्झौतामा तीन देशबीचको ऐतिहासिक सम्बन्ध, इस्लामिक भ्रातृत्व, साझा रणनीतिक हित तथा लामो समयदेखिको रक्षा सहकार्यलाई आधार बनाउँदै सामूहिक सुरक्षा र सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीन देशमाथिको आक्रमणका रूपमा लिइनेछ। यस व्यवस्थाले तीन देशबीच सामूहिक प्रतिरोध क्षमता बलियो बनाउने अपेक्षा गरिएको छ।
सम्झौतामा तीनै देशको सामूहिक सुरक्षा सुदृढ गर्दै क्षेत्रीय तथा क्षेत्रबाहिर शान्ति, सुरक्षा र स्थायित्व प्रवद्र्धन गर्न प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
त्यसैगरी, सम्झौताले तीन देशबीच रक्षा सहकार्यका विभिन्न पक्षलाई थप विस्तार र सुदृढ गर्ने व्यवस्था गरेको छ। यसले साझा सुरक्षा चुनौतीको सामना गर्न तीन देशबीचको समन्वय र सहकार्यलाई थप संस्थागत गर्ने संकेत गरेको छ।
मक्कामा भएको यो सहमति साउदी अरब, टर्की र पाकिस्तानबीचको परम्परागत राजनीतिक तथा धार्मिक सम्बन्धलाई सुरक्षा तथा रक्षाको क्षेत्रमा थप रणनीतिक साझेदारीमा रूपान्तरण गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
तीनै देशले सम्झौतामार्फत साझा रणनीतिक हित र लामो समयदेखिको रक्षा सहकार्यलाई थप बलियो बनाउँदै सुरक्षित र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
तर, यो सम्झौतालाई लिएर विभिन्न टिप्पणीहरू पनि भएका छन्। यो सम्झौता गरेका देशहरूको संरक्षणमा सशस्त्र समूह रहेको आरोपा इजरायलका एक मन्त्रीले यसअघि नै लगाएका छन्।


