काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रतिबन्धित विद्युतीय चुरोट (भेप)सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। भेप भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट दुई हजार ७७० थान भेप बरामद गरेको छ। पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौँका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरू प्रतिबन्धित भेपको कारोबारमा संलग्न रहेको जनाएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न वडा क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट ९भेप०को भण्डारण तथा बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’ नामको गोदाम र महाबौद्धस्थित आरएचएस इन्टरनेसनलमा छापा मारिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पूर्णलाल श्रेष्ठको गोदाम कोठाबाट प्रतिबन्धित भेप दुई हजार ६७० थान तथा आरएचएस इन्टरनेसनल प्रालिबाट थप एक सय थान भेप बरामद गरिएको हो।
पक्राउ परेका चारै जना तथा बरामद सामग्रीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। रासस


