जतिखेर पनि सरकारको कान समाउने क्षमता पार्टीसँग छ : रवि लामिछाने

हिमाल प्रेस २३ साउन २०८३ २१:१३ | Saturday, August 8, 2026
12
SHARES
जतिखेर पनि सरकारको कान समाउने क्षमता पार्टीसँग छ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले बाटो विराए जतिखेर पनि कान समाउने क्षमता पार्टीसँग रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले आफूहरूसँग राजनीतिक पार्टी रहेको र सरकारले बाटो विराए कान समाउने क्षमता रहेको बताएका हुन्।

उनले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ, सरकारले काम गरनेछ भने हामीसँग राजनीतिक पार्टी छ, बाटो विरायो भने सरकारलाई जतिखेर पनि कान समाउने क्षमता पार्टीले जहिले पनि राख्छ।’

सरकार लिकभन्दा बाहिर गए पुनः यात्रालाई सहज बनाउने काम पार्टीले गर्ने उनको भनाइ छ।

लामिछानेले सरकारको कामलाई मूल्यांकन गर्न चार महिनाकै अवधि पर्याप्त नरहे पनि जनताले छनक पाउन नसकेको स्वीकार गरे।

‘चार महिना सरकारको मूल्यांकन गरिहाल्ने समय हो कि अलि भन्न मिल्दैन मलाई लाग्छ,’ उनले भने,‘तर पनि यो चार महिनामा हामीले अलिकति भए पनि छनक दिन सक्नुपथ्र्यो।’

सभापति लामिछानेले आफूहरूले जसरी पनि वाचा पूरा गर्ने भन्दै चिन्ता नलिन ढाड्स दिए।

‘चिन्ता नगर्नु होला, यो उडानलाई गन्तव्यमा पुर्‍याउन हामीले लिएर हिँडेका छौँ, अलिकति टर्बुलेन्स आएको हुन सक्ला, कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आउँछ, तर फास्टेन योर सिटबेल्ट, हामी गन्तव्यमा सुरक्षित पुर्‍याछौँ,’ उनले भने।

अप्ठ्यारो परे त्यसलाई सम्हाल्नसक्ने अभिभावकत्व आफूहरूसँग रहेको उनले बताए।

निजी क्षेत्र त्रसित रहेको जानकारी आफूले पाएको बताउँदै सभापति लामिछानेले निजी क्षेत्रलाई त्रासमा राख्ने पार्टीको दृष्टिकोण नरहेको प्रस्ट पारे।

‘निजी क्षेत्रका साथीहरू तर्सिनुभएको कुरा थाहापाइ पनि रहेको छु, कुनै पनि मानिसले व्यापार व्यवसाय गर्दा केही गलत भएका रहेछन् भने तिनलाई आर्थिक अपराधको दृष्टिकोणले हेर्ने हो, अन्य अपराधी जस्तो हेर्न हुँदैन,’ उनले भने,‘त्रासमा कसैले पनि व्यापार गर्न सक्दैन, म सरकारलाई यहीँबाट बताउन चाहन्छु, हाम्रै सरकार हो तर म स्पष्ट पार्न चाहन्छु कि पार्टीको स्पष्ट लाइन यही हो।’

सभापति लामिछानेले विगतका राजनीतिकर्मी वा निती निर्मातालाई दोष दिएर अब उम्किने अवस्था नरहेको प्रस्ट पारे। उनले आफू ‘ब्लेम गेम’ मा नरहेको समेत बताए।

‘हिजो कसले कति वर्ष शासन गर्‍यो, को कति वर्ष मन्त्री भयो, कसको पार्टीले सरकार चलायो, भनेर दोष लगाउँदै दोषी खोज्ने ब्लेम गेममा म त छैन,’ उनले भने,‘अब ब्लेम हाम्रैमा आउँछ, हिजो के भयो कसो भयो त्यो हिजोको कुरा भयो, हिजोको परिस्थिति अलग थियो, हिजोको चुनौती अलग थियो, हिजो देशमा राजनीतिक परिवर्तनको आवश्यकता थियो, संविधान निर्माणको चरणमा थियो, अर्कै किसिमको राजनीतिक चुनौती थियो, त्यतिखेरका राजनीतिकर्मीले जति सक्नुभयो गर्नुभयो।’,

कसैलाई दोष लगाउँदै दोषी खोज्दै हिँड्ने होइन भन्दै उनले समस्या खोजेर समाधान गर्नुपर्नेमा जोड दिए।

सभापति लामिछानेले सरकार र पार्टीबीच मतभेद रहेको हल्ला निराधार रहेको दाबी गरे।

‘अलि राजनीतिक रुपमा अप्ठ्यारो पर्‍यो कि, झगडा पो पर्‍यो कि, त्यस्ता कहिलेकाहीँ रियुमरहरु आउँछन्,’ लामिछनेले भने, ‘त्यो रियुमरहरुलाई तपाईँहरुले आज विकेन्ड पनि हो, त्यो रियुमरहरुलाई आज स्न्याक्सको रुपमा ग्रहण गर्नुहोला। त्यो रियुमर्स स्न्याक्स मात्रै हो, त्यसको भ्यालु त्यो भन्दा बढी केही पनि छैन।’

प्रकाशित: २३ साउन २०८३ २१:१३ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast