काठमाडौँ- महेश छात्र परिषद्को नयाँ कार्यसमिति चयन भएको छ। परिषद्को दर्तापछिको पहिलो महाधिवेशनबाट शिवराज लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, सचिवमा मनीष गौतम, सहसचिवमा सन्तोष घिमिरे र कोषाध्यक्षमा अभिमन्यु नेपाल निर्वाचित भएका छन्। सदस्यहरूमा मुकुन्द दाहाल, उपेन्द्र मरहठ्ठा, अर्जुन खतिवडा, सुरज सापकोटा, विवेक भट्टराई र सन्दीप काफ्ले चयन भएका छन्।
महेश सन्न्यास आश्रमअन्तर्गत देवघाटधाममा सञ्चालित महेश संस्कृत गुरुकुलम् तथा महेश संस्कृत विद्यापीठमा अध्ययन गरेका छात्रहरूको संस्था महेश-छात्र-परिषद् हो। परिषद् २०६५ असार २७ गते डा. उमेशप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरी स्थापना गरिएको थियो।
स्थापनाकालदेखि परिषद्ले महेश संस्कृत गुरुकुलसँग सहकार्य गर्दै प्राज्ञिक, सामाजिक तथा धार्मिक गतिविधि सञ्चालन गर्दै आएको छ। अनुसन्धानात्मक पत्रिका प्रकाशन, गुरुपूजन तथा गुरु-अभिनन्दन, विद्वत्सङ्गोष्ठी, कविगोष्ठी, वक्तृत्वकला प्रतियोगिता, विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, गुरुकुलका बौद्धिक समारोहमा सहभागिता तथा विद्यार्थीको उपचारमा आर्थिक सहयोगलगायतका काम गर्दै आएको परिषद्ले जनाएको छ।
स्थापनाको १७ वर्षपछि परिषद्लाई तदर्थ समितिमा रूपान्तरण गरी २०८२ फागुन २३ गते भरतपुर नगरपालिका, चितवनस्थित जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा दर्ता गरिएको थियो। त्यसपछि २०८३ असार ३० र ३१ गते दुईदिने साधारणसभा तथा पहिलो महाधिवेशन आयोजना गरिएको हो।
महाधिवेशनको पहिलो दिन शङ्कराचार्यमठ, पशुपतिको सभाकक्षमा परिषद्का अध्यक्ष डा. उमेशप्रसाद घिमिरेको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो। कार्यक्रममा वैदिक अनुसन्धान गुठी (वाग्) का संस्थापक अध्यक्ष डा. स्वामी केशवानन्द गिरिको विशेष सहभागिता थियो।
उद्घाटन समारोहमा परिषद्का सचिव शिवराज लामिछानेले संस्थाको विगत, वर्तमान र भविष्यसम्बन्धी प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राममणि कुइँकेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
दोस्रो दिन नयाँ कार्यसमिति चयनका लागि एकराज दाहालको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो। निर्वाचन समितिमा रोहिणीराज तिमल्सेना र भीमप्रसाद खतिवडा सदस्य थिए।
नवनिर्वाचित कार्यसमितिलाई परिषद्का संरक्षक एवं महेश संस्कृत गुरुकुलम्का अध्यक्ष स्वामी रमणानन्द गिरिले संस्कृत भाषामा शपथ गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा महेश आश्रमका सदस्यसचिव रामप्रसाद भण्डारीले पूर्वकार्यसमितिले गरेका कामको प्रशंसा गर्दै नयाँ नेतृत्वले अझ सक्रियताका साथ संस्थालाई अघि बढाउने विश्वास व्यक्त गरे।
गुरुकुल प्रवर्धन समाजका अध्यक्ष कपिलदेव सुवेदीले महेश संस्कृत गुरुकुलबाट उत्पादित विद्वत् जनशक्तिलाई एकताबद्ध गरी देशको बौद्धिक तथा प्राज्ञिक विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिए।
परिषद्का संस्थापक अध्यक्ष तथा तदर्थ समितिका संयोजक डा. उमेशप्रसाद घिमिरेले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा आफू र आफ्नो समिति गौरवान्वित भएको बताए। उनले गुरुकुलको भावना र उद्देश्यअनुरूप नयाँ पुस्ताले संस्थालाई अझ सबल बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा डा. वैकुण्ठ घिमिरे, महेश संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य कमल सुवेदी, सञ्जयबहादुर अधिकारी, केदार विष्टलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
समारोहको अन्त्यमा परिषद्का संरक्षक एवं महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिले आशीर्वचन दिँदै धर्म, दर्शन, संस्कृत, संस्कार र संस्कृतिको प्रवर्द्धनमा परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले महेश संस्कृत गुरुकुललाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न, नेपालका विभिन्न स्थानमा गुरुकुल विस्तार गर्न तथा वैदिक धर्मदर्शनका मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनमा गुरुकुलका पूर्व तथा वर्तमान छात्रहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।


