पशुपतिमा आध्यात्मिक शब्दार्चना

डा. उमेशप्रसाद घिमिरे २० भदौ २०८३ १८:२४ | Saturday, September 5, 2026
पशुपतिमा आध्यात्मिक शब्दार्चना

काठमाडौँ- पशुपतिको शङ्कराचार्य मठ। बाहिर श्रीकृष्णाष्टमीको धार्मिक उल्लास। मन्दिरमा पूजा, आराधना र भक्तिको वातावरण। त्यही परिवेशभित्र शुक्रबारको एउटा जमघटले कृष्णलाई परम्परागत पूजापाठको घेराभन्दा केही पर खोज्यो- शब्दमा, कवितामा, दर्शनमा र आफ्नै अन्तर्मनमा।

कविहरूले कविता सुनाए, अध्यात्म चिन्तकहरूले कृष्णतत्त्वको व्याख्या गरे र दार्शनिकहरूले आत्मा, ईश्वर, प्रेम, भक्ति तथा जीवनको अर्थबारे विमर्श गरे। कार्यक्रमको नाम थियो- ‘श्रीकृष्णाष्टमी र आध्यात्मिक शब्दार्चना’।

महेश छात्र परिषद्को आयोजनामा भएको उक्त कार्यक्रममा कार्यक्रममा उठेको सबैभन्दा महत्वपूर्ण प्रश्न थियो-कृष्ण कहाँ छन्? वक्ताहरूले यसको उत्तर मन्दिर, मूर्ति वा धार्मिक कर्मकाण्डमा नभई कृष्णलाई आफ्नै चेतना र हृदयगुफाभित्र खोज्नुपर्ने सन्देश दिए।

प्राध्यापक भवानीप्रसाद खतिवडाले ‘कृष्णतत्त्वको आविर्भावको प्रयोजन तथा रहस्य’ विषयमा प्रवचन दिँदै कृष्णतत्त्वको दार्शनिक तथा आध्यात्मिक पक्षमाथि प्रकाश पारे। कृष्णको आविर्भावलाई मानव जीवन, चेतना र धर्मबोधसँग जोडेर हेर्नुपर्ने धारणा उनको थियो।

प्राध्यापक दुर्गाप्रसाद दाहालले ‘राधातत्त्वको रहस्य’ विषयमा चर्चा गर्दै राधालाई प्रेम, समर्पण र भक्तिको उत्कर्षका रूपमा व्याख्या गरे।

स्वामी रमणानन्द गिरिले ‘भगवत्तत्त्वको दार्शनिक अद्वैतपरक प्रवचन’ प्रस्तुत गर्दै आत्मा र परमात्माको सम्बन्ध तथा अद्वैत दर्शनका आधारमा भगवत्तत्त्वबारे चर्चा गरे।

कार्यक्रममा सहभागी कविहरूले कृष्ण, भक्ति र अध्यात्मलाई विभिन्न कोणबाट कवितामा उतारे। अध्यात्म–दर्शन, प्रेम, अस्तित्व, आत्मा, ईश्वर, साधना र जीवनदर्शनसँगै प्राकृतिक प्रकोप र सामाजिक सरोकारसमेत कविताका विषय बने।

विशिष्ट कविहरूमा प्राध्यापक दुर्गाप्रसाद दाहाल, प्रा. कोषराज न्यौपाने, प्रा. डा. देवी नेपाल, प्रह्लाद पोख्रेल, प्रभा भट्टराई, बलराम दाहाल, दुर्गा रिजाल, ज्ञानु विद्रोही र भैरवी भूगोल ढुङ्गानालगायत सहभागी थिए।

कार्यक्रममा अञ्जन ढुङ्गेल, अर्जुन खतिवडा, मनीष गौतम, रवि सुवेदी, प्रवीण काफ्ले, श्रीजय शाक्य, टेकराज रिजाल, ब्रह्मचारी सुदर्शन, शिवराम दुवाडी, पुरुषोत्तम पाण्डे, सदाशय गौतम, मधुसूदन पराजुली, पुरुषोत्तम घिमिरे र प्रदीप नेपाललगायत युवाकविहरूको पनि उल्लेख्य सहभागिता थियो।

कार्यक्रमको निष्कर्ष थियो- साहित्य अध्यात्मको विरोधी होइन, सहयात्री हो। कविता शब्दको खेलबाट माथि उठेर अनुभूति र आत्मचिन्तनसँग जोडिन्छ, त्यसले साधनाको स्वरूप लिन सक्छ। साहित्यबाट प्राप्त आह्लादलाई ‘ब्रह्मानन्द सहोदर’ मानिने पूर्वीय चिन्तन परम्पराको सन्दर्भ पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।

समारोहको समग्र समीक्षा प्राध्यापक कोषराज न्यौपानेले गरेका थिए भने प्रा. डा. देवी नेपालले ‘समारोहको कवितात्मक टिप्पणी’ प्रस्तुत गरेका थिए।

डा. उमेशप्रसाद घिमिरेको सहजीकरणमा सम्पन्न कार्यक्रम स्वामी रमणानन्द गिरिको सत्सङ्कल्पमा भएको हो। समारोहको सभाध्यक्षता श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast