काठमाडौँ- बिहारको बांकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका नेता प्रशान्त किशोर निर्वाचित भएका छन्।
सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का निरज कुमारलाई १८ हजार ९५३ मतले पराजित गर्दै प्रशान्त किशोर निर्वाचित भएका हुन्।
बिहान ८ बजेदेखि मतगणा सुरू भएको थियो र प्रशान्त किशोरले लगातार अग्रता लिएका थिए। यो सिटका लागि ३० जुलाईका दिन उपनिर्वाचन भएको थियो।
बांकी विधानसभा सिटबाट प्रशान्त किशोरले जित हासिल गरे सँगै बीजेपीको किल्ला भत्किएको छ। यो सिटबाट सन् १९९५ देखि लगातार बीजेपीले जित हासिल गर्दै आएको थियो।
पटनाको सहरी क्षेत्रभित्र पर्ने यो सिट बीजेपीका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निर्वाचन क्षेत्र हो। उनी राज्यसभा सदस्य चुनिएपछि यहाँ उपनिर्वाचिन भएको हो।
बांकी विधानसभा सिटबाट बीजेपी अध्यक्ष नितिन नवीनका बुबा स्वर्गीय नवीनकिशोर प्रसाद सिन्हाले पनि चुनाव जितेका थिए।
पटनाको प्रमुख सहरी क्षेत्र रहेको बांकीपुर विधानसभा निर्वाचन क्षेत्रमा बीजेपीको बलियो पकड रहेको बताइन्छ।
उपनिर्वाचनमा बीजेपीको पराजपछि बिहारमा राजनीतिक समीकरण फरिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमहरूले आकलन गरेका छन्।
जुलाई ५ मा पत्रकार सम्मेलन गरेर जन सुराज पार्टीका प्रदेश अध्यक्ष मनोज भारतीले प्रशान्त किशोरको उम्मेदवारी घोषणा गरेका थिए।
यसअघि नोभेम्बर २०२५ मा भएको बिहार विधानसभा निर्वाचनमा जनसुराज पार्टीेले अधिकांश सिटमा आफ्नो उम्मेदवार उतारेको थियो। तर,प्रशान्त किशोरले चुनाव नलड्ने घोषणा गरेका थिए।
उनले भनेका थिए,‘बाँकी सिटमा ध्यान दिनु आवश्यक भएकाले पार्टीले यस्तो निर्णय गरेको हो।’
बांकीपुरबाट चुनाव लड्नले घोषणापछि उनले त्यही लक्ष्यतर्फको एक कदम रहेको बताएका थिए।
जन सुराज पार्टीले सन् २०२५ को निर्वाचनमा खातासम्म खोल्न सकेको थिएन। पार्टीको प्रदर्शन निकै खाराब देखिएको थियो। त्यो चुनावमा जन सुराज पार्टीका २३८ मध्ये २३६ उम्मेदवारको जमानत जफत भएको थियो।
यो सिटमा बीजेपीका घोषित उम्मेदवार अभिषेककुमार सिन्हाले अन्तिम समयमा पारिवारिक कारण देखाउँदै जुलाई १० मा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। जबकि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले बांकीपुरमा अभिषेकका लागि मत मागेका थिए।
त्यसपछि बीजेपीले निरजकुमार सिन्हालाई उम्मेदवार घोषणा ग¥यो। उनी सन् २००६ देखि बीजीपीका सदस्य हुन्।
यो घटनाक्रममा प्रशान्त किशोरले भनेका थिए,‘जनतासँग अब विकल्प आइसकेकाले बीजेपीले उम्मेदवार नै पाइरहेको छैन।’
बिहार उपनिर्वाचनमा मात्रै होइन आफ्नो अर्को गढ मध्य प्रदेशमा पनि सत्तारुढ दल बीजेपीलाई हार बेहोर्नु परेको छ।
मध्य प्रदेशको दतिया सिटामा भएको उपनिर्वाचनमा बीजेपीका आशुतोष तिवारी पराजित भएका छन्। यो सिटमा कांग्रेसका घनश्याम सिंहले बाजी मारेका छन्।


