काठमाडौँ- नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदै छ। भेला उद्घाटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा १ बजे हुने उद्घाटन समारोहको सभापतित्व भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गर्नेछन्। पहिलो दिन उद्घाटनसहित विभिन्न नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको नेता मीन विश्वकर्माले बताए।
भेलामा करिब चार हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। उनका अनुसार महाधिवेशन प्रतिनिधिसहित सम्बन्धित सबैलाई भेलामा बोलाइएको छ।
भेलाको दोस्रो दिन शनिबार राजनीतिक, समसामयिक, सांगठनिक र आर्थिक प्रस्ताव प्रस्तुत गरिनेछ। ती प्रस्तावमाथि प्रतिनिधिहरूबीच व्यापक छलफल हुने विश्वकर्माले बताए। उनका अनुसार भेलाबाट तत्काल कुनै नयाँ कमिटी गठन गरिने छैन। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रभावित पार्ने गरी कुनै निर्णय नगर्ने उनले स्पष्ट पारे।
‘कमिटी अहिले बन्दैन। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित हुने गरी कुनै निर्णय हुँदैन,’ विश्वकर्माले भने।
उनले कांग्रेस एकताबद्ध हुनुपर्छ भन्ने पक्षमा रहेका सबै प्रतिनिधि भेलामा सहभागी हुने दाबी गरे। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा असन्तुष्टि जनाउँदै आफूहरू २०८२ माघ १ गतेको अवस्थाबाट अघि बढेको उनको भनाइ छ।
‘दुवैले आफूलाई आधिकारिक भनेर दाबी गरेका छन्। आधिकारिक को हो भन्नेमा हामीलाई चित्त बुझेको छैन,’ उनले भने। राष्ट्रिय भेला साउन ३१ गते सम्पन्न हुनेछ।


