नेपाली कांग्रेसको असन्तुष्ट पक्षले शुक्रबारदेखि राष्ट्रिय भेला आयोजना गर्दै छ। राष्ट्रिय भेलालाई पार्टी नेतृत्वले कसरी लिएको छ भन्ने चासो बढेको छ। पार्टीको संस्थापन पक्ष भने केन्द्रीय कार्यसमिति बैठकमा व्यस्त छ। भेलाकै विषयमा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेसँग गरिएको कुराकानी :
इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीले कसरी लिएको छ?
पार्टीभित्र विवाद, बहस र भेला आयोजना हुनु स्वाभाविक प्रक्रिया हो। असन्तुष्ट समूहले यस्ता भेलामार्फत आफ्ना गुनासा र धारणा राख्नु उसको अधिकार पनि हो।
नेपाली कांग्रेसमा यस्ता भेला हुनु स्वाभाविक मानिन्छन्। यस्ता भेलालगायतका माध्यमबाट असन्तुष्ट समूहले आफ्ना गुनासा व्यक्त गर्छन्। त्यो उहाँहरूको अधिकारको विषय हो।
इतर पक्षले नेपाली कांग्रेसकै ब्यानरमा कार्यक्रम गर्दै छ। उहाँहरूमाथि कारबाही हुँदैन?
विधान उल्लंघन भएको अवस्थामा मात्रै नेताकार्यकर्तामाथि कारबाही हुन्छ। राष्ट्रिय भेला आयोजना गरेकै आधारमा कारबाही गर्ने पार्टीको कुनै योजना छैन। लक्ष्मणरेखा पार गरेपछि मात्रै कारबाहीको विषय आउँछ। त्यसैले भेला आयोजनाकै विषयलाई लिएर कुनै कारबाही गर्ने योजनामा छैनौँ।
पार्टी विभाजन हुनै लागेको हो?
यस्ता भेलाले पार्टीमा फुट आउँदैन। नेपाली कांग्रेस अहिले १५औँ महाधिवेशनको संघारमा रहेकाले पार्टीभित्र यस्ता गतिविधि र बहस भइरहन्छन्। कम्युनिस्ट पार्टी हो भने यति बेला दल चार चिरा भइसक्ने थियो। तर हामी त्यस्तो छैनौँ। पार्टीमा भइरहेका बहसले लोकतन्त्र बलियो हुन्छ।
कांग्रेस इतर समूहको राष्ट्रिय भेला : ‘नयाँ कमिटी गठन हुँदैन’, अरू के के हुन्छ?


