काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले असोज ३ गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्न लागिएको भनिएको महाधिवेशनमा सहभागी नहुन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने अधिवेशनमा सहभागी भई मंसिर २१-२३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन अपिल गरेका हुन्।
कोइरालाले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीभित्रको विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्रै नभई नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको बताएका छन्।
उनले सुरुदेखि नै सहमति, सहकार्य र एकताका आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न प्रयास गरिए पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको आरोप लगाएका छन्। पार्टीमा थप विवाद सिर्जना नगर्न र संगठनात्मक एकता कमजोर नबनाउन आग्रह गर्दासमेत बेवास्ता गरिएको उनको भनाइ छ।
पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले एकतर्फी रूपमा घोषणा गरिएको अधिवेशन तथा महाधिवेशनको कार्यतालिका स्थगित गरी वार्ता र संवादबाट सहमतिमा पुग्नुपर्ने बताएका छन्। सर्वोच्चको निर्णय नआउँदै एकलौटी रूपमा अघि बढ्नु उचित नहुने उनको तर्क छ।
पद व्यवस्थापनलाई राजनीतिक सहमतिको आधार बनाउने प्रवृत्तिको पनि उनले आलोचना गरेका छन्। निश्चित सर्त स्वीकार गरे मात्रै पद दिने वा पद बाँडफाँडलाई समाधानको आधार बनाउने दृष्टिकोणले कांग्रेसको लोकतान्त्रिक संस्कार कमजोर पार्ने उनको भनाइ छ।
‘नेपाली कांग्रेसका नेताकार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ। कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न खोजेको आरोप लगाएका छन्। कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी पार्टीको भविष्यलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने उनको भनाइ छ।
उनले नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुनसमेत आग्रह गरेका छन्। संस्थापन इतर समूहमा देखिएका नेता कोइराला महाधिवेशन आयोजक समितिका संयोजक हुन्।
विज्ञप्तिमा उनले पार्टीको शक्ति इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा रहेको उल्लेख गर्दै विधि, विधान, वैधानिकता र एकताको बाटोमा उभिएर कांग्रेसलाई पुनः सशक्त र विश्वसनीय बनाउनुपर्ने बताएका छन्।
इतरपक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर महाधिवेशनको तयारी गरिरहेको छ। तर कांग्रेसमा अहिले संस्थापन र देउवा पक्षले छुट्टाछुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसमा गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज ३ बाट वडा अधिवेशन सुरु गरी १६-१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ।
त्यसको प्रतिवादमा इतर पक्षले असोज १५ बाट वडा अधिवेशन सुरु गरी मंसिर २१-२३ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको हाे।


