काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मिस नेपाल दीपमाला ढकालबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ। मन्त्रालय पुगेकी ढकालले मन्त्रीसँग गैरआवासीय नेपाली (एनआरएन) समुदायको दोस्रो पुस्तालाई नेपाल फर्किन प्रोत्साहित गर्ने विषयमा छलफल गरेकी हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपमालाले दोस्रो पुस्ताका एनआरएनलाई स्वदेशसँग जोड्ने र समृद्ध अर्थतन्त्र निर्माणमा उनीहरूको योगदान बढाउने विषयमा सकारात्मक छलफल भएको बताइन्। उनका अनुसार मन्त्री पोखरेलले यस अभियानमा सरकार सहयोग गर्न तयार रहेको बताएका थिए।
मिस नेपालको ताज जितेपछि दीपमालाले आफ्नो मुख्य उद्देश्य देश र डायस्पोराबीचको सम्बन्ध सुदृढ गर्नु तथा दोस्रो पुस्ताका एनआरएनलाई नेपाल फर्किन प्रेरित गर्नु रहेको बताएकी थिइन्।
दीपमाला हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको वर्तमान कार्यसमितिमा दोस्रो पुस्ता संयोजकको जिम्मेवारीमा रहेकी छन्। उनले यही विषयमा निकट भविष्यमा प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गरी थप छलफल गर्ने योजना रहेको जानकारी दिइन्।


