भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षामा सरकारले विशेष योजना ल्याउने

हिमाल प्रेस ५ असोज २०८३ १५:५० | Monday, September 21, 2026
भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षामा सरकारले विशेष योजना ल्याउने

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्कालीनदेखि दीर्घकालीन योजनासम्म अघि बढाएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुनुअघि अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा तथा आवश्यकताअनुसार आवासीय व्यवस्थामार्फत पठनपाठन सञ्चालन गरिने बताए।

उनका अनुसार तत्कालका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी सिकाइ केन्द्र सञ्चालनमा सहयोग गरिनेछ। आवश्यकताअनुसार बालबालिकाका लागि आवासीय सुविधासमेत उपलब्ध गराइने उनले जानकारी दिए।

बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन मन्त्रालयले निजी क्षेत्रसमेतको साझेदारीमा ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि बढाएको मन्त्री पोखरेलले बताए।

‘कुनै पनि बालबालिका सिकाइबाट वञ्चित हुने अवस्था आउन दिइने छैन,’ उनले भने।

बाढीबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण विपद्पछिको आवश्यकता मूल्यांकन (पिडीएनए) प्रतिवेदनका आधारमा गरिने उनले बताए। प्रतिवेदनका आधारमा पुनर्निर्माणको योजना तयार गरी कार्यान्वयनमा लगिने उनको भनाइ छ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श दिइरहेको र उनीहरूको सिकाइ निरन्तरताका लागि आवश्यक व्यवस्था मिलाइएको पनि मन्त्री पोखरेलले जानकारी दिए।

बाढीका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगे पनि बालबालिकाको शैक्षिक गतिविधि प्रभावित हुन नदिन सरकारले तत्कालीन वैकल्पिक सिकाइ व्यवस्थादेखि विद्यालय पुनर्निर्माणसम्मका कामलाई अघि बढाउने उनको भनाइ थियो।

प्रकाशित: ५ असोज २०८३ १५:५० | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast