शिक्षा मन्त्रालयद्वारा कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत

हिमाल प्रेस १८ साउन २०८३ १०:४६ | Monday, August 3, 2026
160
SHARES
शिक्षा मन्त्रालयद्वारा कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय तहमा सञ्चालन हुने स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटलाई प्रभावकारी, व्यवस्थित र नतिजामुखी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ (संशोधनसहित) को दफा ६५ को उपदफा (४) बमोजिम तयार गरिएको उक्त कार्यविधि असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो।

कार्यविधिले शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतका १६ वटा निकाय तथा मन्त्रालयका विभिन्न ५ वटा महाशाखाबाट आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने स्वीकृत कार्यक्रमहरूको कार्यान्वयनलाई एकरूप, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखेको छ।

यसले कार्यक्रमहरू निर्धारित प्रक्रिया, अपेक्षित मर्म तथा नतिजा सूचकअनुसार सञ्चालन गर्न आवश्यक औपचारिक मार्गनिर्देशन प्रदान गर्नेछ।

मन्त्रालयका अनुसार नेपालको संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकार, शिक्षा ऐन तथा नियमावली, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली, विद्यालय शिक्षा क्षेत्र योजना, राष्ट्रिय खेलकुद नीति, दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा नेपाल सरकारका नीति र प्राथमिकतालाई आधार बनाएर कार्यविधि तयार गरिएको हो।

कार्यविधिले प्रारम्भिक बालशिक्षादेखि माध्यमिक तहसम्म गुणस्तरीय, समावेशी, जीवनोपयोगी र प्रविधिमैत्री शिक्षा सुनिश्चित गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार गर्ने, उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र रोजगारमुखी बनाउने तथा जीवनपर्यन्त शिक्षाको अवसर विस्तार गर्ने लक्ष्यलाई कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

त्यसैगरी, राष्ट्रिय खेलकुद नीतिअनुसार स्वस्थ, अनुशासित, सिर्जनशील र सक्षम जनशक्ति विकास गर्दै राष्ट्रिय एकता, प्रतिष्ठा र समृद्धिमा योगदान पुर्‍याउने खेलकुद कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा समेत कार्यविधिले मार्गदर्शन गर्ने उल्लेख गरिएको छ।

कार्यविधि तयारीका क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल तथा मन्त्रालयका सचिव चूडामणि पौडेलबाट प्राप्त नीतिगत मार्गदर्शन र सहयोगप्रति योजना तथा अनुगमन महाशाखाले कृतज्ञता व्यक्त गरेको छ।

कार्यविधि

प्रकाशित: १८ साउन २०८३ १०:४६ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast