सामान्य समस्या समाधान गर्न पनि स्थानीय तह असफल : सांसद पन्त

हिमाल प्रेस २ भदौ २०८३ १२:२१ | Tuesday, August 18, 2026
16
SHARES
सामान्य समस्या समाधान गर्न पनि स्थानीय तह असफल : सांसद पन्त

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले स्थानीय तहको बेवास्ता र स्रोत अभावका कारण सर्वसाधारणले सामान्य समस्यामा समेत ठूलो सास्ती खेप्नुपरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्थानीय सरकारले न्यून बजेट र सीमित जनशक्तिबाट तत्काल समाधान गर्न सक्ने समस्यासमेत लामो समयदेखि अलपत्र रहेको बताए।

उनले भने, ‘हामी निर्वाचन क्षेत्रमा जाँदा जनताले अनेकौँ समस्या देखाउँछन् र समाधानको आशा गर्छन्, जुन जायज पनि हो। तर, स्थानीय सरकारले न्यून बजेट र थोरै जनशक्ति परिचालन गरेर तत्काल समाधान गर्न सक्ने समस्याहरू समेत अलपत्र परेका छन्।’

स्थानीय सडकमा पानी जमेर दह बनेका कारण वर्षातको समयमा बालबालिका विद्यालय जान नसकेको उनले बताए।

‘विद्यालयमा २-४ थान डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन्। कतै पङ्खाको अभावमा अत्यधिक गर्मीले बालबालिका कक्षामै बेहोस भइरहेका छन्,’ उनले भने, ‘स्थानीय सरकारले गर्नुपर्ने यस्ता सामान्य काम पनि भएका छैनन्।’

सांसद पन्तले सांसदहरूसँग प्रत्यक्ष रूपमा विकास निर्माणका लागि स्रोत तथा कोष नहुँदा जनताका समस्या समाधान गर्न कठिन भएको बताए।

‘सांसदहरूसँग प्रत्यक्ष कुनै स्रोत तथा कोष नहुँदा जनताका समस्या टुलुटुलु हेरेर फर्किनुको विकल्प छैन,’ उनले भने।

विगतमा संसदीय कोषको दुरुपयोग नगरिएको भए अहिले त्यसलाई सही रूपमा उपयोग गर्न सकिने उनको भनाइ थियो।

‘कहिलेकाहीँ उद्देश्य सही हुँदाहुँदै पनि गलत पात्र र प्रवृत्तिका कारण विषय नै विकृत हुन पुग्छ,’ उनले भने।

प्रकाशित: २ भदौ २०८३ १२:२१ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast