विभाजनको जोखिमबाट कांग्रेसलाई जोगाउनुपर्छ : सहमहामन्त्री संग्रौला

हिमाल प्रेस १ भदौ २०८३ १७:०७ | Monday, August 17, 2026
20
SHARES
विभाजनको जोखिमबाट कांग्रेसलाई जोगाउनुपर्छ : सहमहामन्त्री संग्रौला

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदायलाई समेट्ने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अघि बढाउनुपर्ने बताएकी छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले निर्वाचनमा भएको पराजय र पार्टी विभाजनको जोखिमबाट कांग्रेसलाई जोगाउन इतिहासको चेत र देशप्रतिको जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिइन्।

फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइ उद्धृत गर्दै संग्रौलाले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताइन्। उनले कांग्रेसको १५औँ महाधिवेशन घोषित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्।

महाधिवेशनका लागि नियमावली, निर्वाचन निर्देशिका र सदस्यता अद्यावधिकको काम समयमै सम्पन्न गर्नुपर्ने तथा महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति र प्रचारप्रसारलगायत उपसमिति तत्काल गठन गर्नुपर्ने उनको माग थियो।

‘जरा अभियान’ तथा आफ्नो हालैको सांगठनिक भ्रमणका क्रममा कार्यकर्ता र आम नागरिकमा कांग्रेसप्रतिको आशा अझै जीवित रहेको पाइएको भन्दै उनले पार्टीले चुस्त र प्रभावकारी सांगठनिक परिचालनको आवश्यकता महसुस गर्नुपर्ने बताइन्।

तराई-मधेशमा विकसित पछिल्ला घटनाक्रमबारे धारणा राख्दै संग्रौलाले सामाजिक तथा जातीय सद्भाव बिथोल्ने प्रयासप्रति कांग्रेस गम्भीर हुनुपर्ने बताइन्।

सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि कांग्रेसले अघि सारेको संसदीय छानबिन समिति गठनको मागलाई पार्टीको मुख्य ‘बटमलाइन’ बनाउनुपर्ने उनको भनाइ थियो।

बहुजातीय र बहुसांस्कृतिक एकताको पक्षमा कांग्रेस स्पष्ट रूपमा उभिनुपर्ने भन्दै उनले मधेशमा शान्ति, सुरक्षा र भ्रातृत्व कायम राख्न पार्टीले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

सरकार गठन भएको चार महिना बितिसक्दा पनि वर्तमान सत्ता दिशाहीन, असक्षम र लोकप्रियतावादी निर्णयमा रमाइरहेको आरोप लगाउँदै संग्रौलाले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले संसदमा जनताका मुद्दामा कडा र तार्किक बहस चलाउनुपर्ने बताइन्।

प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचातानीले संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै उनले संघीयताको सवालमा कांग्रेस स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखिन्।

संग्रौलाले विदेशमा रहेका लाखौँ नेपालीको मताधिकार सुनिश्चित गर्न नीति ल्याउनुपर्ने बताइन्। विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई थप सुदृढ बनाउन आवश्यक कदम चाल्नुपर्ने उनको सुझाव थियो।

लामो समयदेखि तदर्थवादमा सञ्चालन भइरहेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत भ्रातृ संस्थाको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिइन्।

देशको समसामयिक अवस्था र जनजीविकाका सवालमा सरकारले पूर्वतयारी तथा भण्डारणको पर्याप्त अध्ययन नगरी १४.२ केजीको सिलिन्डर भर्ने तदर्थवादी निर्णय गर्दा ग्यासको अभाव सिर्जना भएको संग्रौलाले आरोप लगाइन्।

ग्यासको आयात र भण्डारण क्षमता दोब्बर बनाउन कूटनीतिक पहल गर्नुपर्ने, विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाई इन्डक्सन चुलोमा सहुलियत दिनुपर्ने तथा मुख्य सिजनमै मल नपाएर समस्यामा परेका किसानलाई अनुदानको मल उपलब्ध गराउनुपर्ने उनले बताइन्।

जनजीविकासँग प्रत्यक्ष जोडिएका यस्ता विषयमा कांग्रेसले सरकारसँग प्रभावकारी रूपमा पहल गर्नुपर्ने उनको धारणा थियो।

प्रकाशित: १ भदौ २०८३ १७:०७ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast