कांग्रेसको पहिलो महिला महामन्त्री डिला संग्रौला भन्छिन्- टुटेका मन जोड्न सक्रिय हुनेछु [अन्तरवार्ता] 

रमेश दवाडी २६ असोज २०८३ १६:३१ | Monday, October 12, 2026
10
SHARES
कांग्रेसको पहिलो महिला महामन्त्री डिला संग्रौला भन्छिन्- टुटेका मन जोड्न सक्रिय हुनेछु [अन्तरवार्ता] 

डा. डिला संग्रौला पन्त नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट केन्द्रीय महामन्त्री पदमा निर्वाचित भएकी छन्। महिला महामन्त्रीका तीन उम्मेदवारमध्ये पन्त ३११८ मतसहित विजयी भइन् भने महामन्त्रीका अर्का उम्मेदवारहरू महालक्ष्मी उपाध्याय (डिना) ले २८६४ मत र रीता खनालले ८०४ मत मात्र ल्याइन्। यससँगै डिला पार्टीको इतिहासमा महामन्त्री बन्ने पहिलो महिला नेतृ हुन्।

गत फागुनमा विशेष महाधिवेशनबाट उनी सहमहामन्त्री भएकी थिइन्। उनले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु गरेकी हुन्। विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी २०३६ सालको जनमतसंग्रहका क्रममा पनि राजनीतिक गतिविधिमा संलग्न रहिन्। उनले विराटनगरमा रहेर पार्टी संगठन निर्माण तथा विस्तारमा काम गरिन्।

जिल्ला तहबाट महिला संगठनमा सक्रिय हुँदै उनी नेपाल महिला संघको केन्द्रीय अध्यक्षसम्म पुगिन्। महिला अधिकार, महिला सशक्तीकरण र राजनीतिमा महिलाको सहभागिता विस्तार उनका राजनीतिक गतिविधिका प्रमुख क्षेत्र हुन्। २०७२ सालमा सम्पन्न पार्टीको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। २०७४ सालको प्रतिनिधिसभा सदस्य संग्रौलाले संसद् मा महिला अधिकार, सामाजिक न्याय, शिक्षा, रोजगारी र जनजीविकासँग सम्बन्धित विषय उठाउँथिन्।

संसद् तथा पार्टी संगठनमा उनको सक्रियता महिला नेतृत्व विकास र राजनीतिक सहभागितासँग जोडिएको छ। नेपाली राजनीतिमा महिला सहभागिता तथा नेतृत्व विकासका क्षेत्रमा उनको भूमिका उल्लेखनीय छ। यतिखेर कांग्रेसमा एकमत छैन। शेरबहादुर देउवा समूहले यो महाधिवेशनलाई स्वीकार गरेको छैन। कांग्रेसको आधिकारिकता सर्वोच्च अदालतमा छ। यस्तो अवस्तामा १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई एकढिक्का कांग्रेस बनाउने चुनौती छ र गुमेको जनमत फिर्ता ल्याउनुपर्ने अवस्था पनि छ। संसद्को प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसको अबको बाटो कस्तो रहला र अबको योजना के के छन् भन्ने विषयमा नवनिर्वाचित महामन्त्री डा.पन्तसँग गरिएको कुराकानी :

कांग्रेसको इतिहासमै पहिलोपटक महिला महामन्त्री हुँदा यहाँलाई कस्तो लागेको छ?

धेरै खुसी लागेको छ। जिम्मेवारी पनि बढेको छ मलाई। सबैलाई समेटेर विशेष गरी अझ मैले पहिलो महिला महामन्त्री भनेपछि विशेष आभार मैले महिलाहरूलाई नै गर्नुपर्छ। म महिला संघको अध्यक्ष भएर मेची महाकाली यात्रा गरे। अग्रपंक्तिमा हाम्रो दिदीबहिनीहरू उभिनुभयो, युवा साथीहरू उभिनुभयो। आदरणीय दाइहरू उभिनुभयो। यो मेरो जित होइन कि समग्र संगठनमा भुइँमान्छेको कथा हो यो।

कति सालदेखि कांग्रेसमा लाग्नुभयो, आज यो पदसम्म आइपुग्दा कस्तो अनुभूति भएको छ?

म २०३६ सालदेखि विद्यार्थी जीवनदेखि नेविसंघमा लागेर महिला स‌ंघ हुँदै नेपाली कांग्रेसको यो जिम्मेवारीमा आइपुगेको छु। यो लामो यात्रा हो। यात्राका क्रममा सबैलाई मसिनुसँग चिन्ने, सबैलाई मसिनुसँग बुझ्ने, नेपालको भूगोललाई पनि मैले बुझ्ने मान्छे भएको हुनाले सबैले साथ दिनुभएको छ। मैले यो जिम्मेवारीलाई सहज रूपमा लिएकी छु। अब यो जिम्मेवारी पूरा गरेर सबैलाई समेट्ने प्रयास गर्नेछु।

अब कांग्रेसलाई कसरी अगाडि बढाउने?

अब पार्टीको संगठन पुरानै ढंगले लिएर हिँडेर हुँदैन। समान साथीहरू जिम्मेवारीमा पनि आउँदै हुनुहुन्छ, कतिपय जिम्मेवारीमा आउन सक्नुभएको छैन। उहाँहरूलाई पनि समेटेर म अगाडि बढ्नेछु। हामीसँग रिसाएका मतदाता छन्। उहाँहरूलाई जोड्ने जिम्मेवारीमा म रहनेछु। म सधैँ रूपान्तरण र पुस्तान्तरणको पक्षमा सधैँ उभिएँ। सुशासनका पक्षमा उभिएँ। अब पनि म अविचलित रूपमा लागिरहनेछु।

हिजो पनि यहाँले पार्टीभित्र दुई समूह हुँदै गर्दा मिलाउने प्रयास गर्नुभएको थियो। त्यो कति सफल भयो कति सफल भएन, त्यो त अब पुष्टि हुँदै जाला। अहिले पनि दुई धारको कांग्रेस छ। अदालतमा विषयहरू छन्। यसले गर्दा कांग्रेस कसरी मिलेर जाने? त्यो मेल कसरी बन्न सक्छ?

जोड्नुपर्छ। कति मन टुटेको छ, कतिको मन मिलिराखेको छैन। यसलाई जोड्नलाई आदरणीय सभापति गगनकुमार थापाले प्रयत्न गर्नुहुन्छ। म त जोड्ने पुल भएको हुनाले लामो समयसम्म म उहाँहरूसँग पनि रहेँ। त्यो पनि मलाई अनुभव छ। परिवर्तनका पक्षमा पनि म रहेँ। त्यसकारणले सबैलाई जोड्ने पुल म बन्नेछु।

पार्टीभित्र युवा, महिलाहरूको स्थान अब के हुन सक्छ? 

महिला दिदीबहिनीहरू अगाडि आउनुभएको छ, युवाहरू आउने ढोका खुलिसकेको छ, उहाँलाई जोड्ने काम म गर्नेछु।

पार्टीको नयाँ नेतृत्वबाट सरकारप्रति धारणा हुन सक्छ?

सरकारमा जानु भनेको जनताको पक्षमा काम गर्नु हो। जनताका जनसवाल र जनजीविकालाई चाहिँ चलाउनु हो। चुस्त दुरुस्त डेलिभरी हो। सरकारतर्फ त्यो अलिकति टाढा भएको अनुभूति भएको छ। त्यसकारणले हामी जहिले पनि सकारात्मक पक्षमा रहन्छौँ प्रतिपक्षमा। तर चाहिँ सरकार जनताप्रति परिलक्षित भएन, सुशासन दिन सकेन, चुस्त दुरुस्त डेलिभरी भएन भने चाहिँ हामी सशक्त रूपमा सदन सदनभित्र पनि साथीहरूले उठाउनुहुन्छ। संगठन र सडकभित्र पनि आवाज उठाउँछौँ।

आम महाधिवेशन प्रतिनिधि, आम नेपाली कांग्रेसका शुभेच्छुक कार्यकर्ताहरूलाई के भन्न चाहनुहुन्छ?

सबै साथीहरूलाई म आभार प्रकट गर्छु। आज यो मैले जिम्मेवारी पाएको होइन। तपाईंहरूले जिम्मेवारी पाउनुभएको छ। सबैले मन, भावनाबाट जोडेर नै मलाई मतदान गर्नुभएको छ। जसरी तपाईंहरूले मलाई जिम्मेवारी दिनुभएको छ, त्यसैगरी तपाईंको मनबाट, मुटुबाट तपाईंहरूको घर दैलो आँगनमा सल्लाह लिएर मात्रै म अगाडि बढ्छु, देश, विदेश, प्रवासमा गएर।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast