काठमाडौँ- संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले नेपाल-बेलायत साझेदारीलाई सुदृढ बनाउने बताएका छन्।
सोमबार संसदीय सुनुवाई समिति बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जबराले नेपाल-बेलायत साझेदारीलाई सुदृढ बनाउने र यस सम्बन्धबाट दुवै देशका जनताका लागि अझ बढी अवसर र लाभ सुनिश्चित गर्न योगदान गर्ने लक्ष्य राखिएको बताए।
उनले राजदूत पदको जिम्मेवारी विनम्रता, धैर्य र सिक्ने इच्छाका साथ ग्रहण गर्ने धारणा राखे। आफू राजदूत पदमा नियुक्ति भएमा परराष्ट्र मन्त्रालय, नेपाल सरकार र लन्डनस्थित नेपाली दूतावासको टोलीसँग निकट समन्वयमा रहेर काम गर्ने उनले बताए।
उनले नेपाललाई गरिमाका साथ प्रतिनिधित्व गर्ने, नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्ने उल्लेख गरे।
सैनिक सेवामा ४२ वर्ष बिताइसकेपछि पनि नेपालका लागि योगदान गर्न बाँकी छ भन्ने विश्वास रहेको र आफ्नो लामो अनुभवलाई कूटनीतिक सेवामा प्रयोग गर्न चाहेको उनको भनाइ छ।




