काठमाडौँ- सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच मंगलबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन र पछिल्ला राष्ट्रिय घटनाक्रमका विषयमा छलफल भएको थियो।
भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै मुलुकमा शान्तिसुरक्षा कायम गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।
उनले पाँचथरसहित देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोलगायत प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन संसद् र सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा पनि राखे।
यस्तै, नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाबारे पनि आङ्देम्बेले सभामुखको ध्यानाकर्षण गराएका थिए।
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा अवरोधबिनै सञ्चालन हुने वातावरण बनाउन आवश्यक पहल गर्न उनले आग्रह गरेको उनका सचिवालयले जनाएको छ।


