काठमाडौँ- नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन सरकारसँग माग गरेको छ।
शनिबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन सरकारसँग माग गरेका हुन्।
सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन माग गरिएको आङ्देम्बेले बताए।
साथै उनले सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको भन्दै रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न समेत माग गरिएको उल्लेख गरे। बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए।
छलफलका क्रममा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनले रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गर्नुपर्ने, अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाउनुपर्ने, स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नुपर्ने लगायतका माग राखेका छन्।


