प्रधानमन्त्रीसँग कांग्रेस नेताहरूको भेट, के भयो कुराकानी?

हिमाल प्रेस ५ असोज २०८३ १३:१४ | Monday, September 21, 2026
प्रधानमन्त्रीसँग कांग्रेस नेताहरूको भेट, के भयो कुराकानी?

काठमाडौँ- नेपाली कांग्रेसले भोटेकोशी विपद्लगायतका घटनालाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिंगो विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनको असरका विषयमा तयार पारिएको धारणा बुझाएका हुन्।

संयुक्त राष्ट्र संघको महासभामा जाँदै गर्दा प्रधानमन्त्रीको साथमा सिंगो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दल एकजुट छ भन्ने बलियो सन्देश दिन खोजिएको उपसभापति शर्माले बताए। साथै जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिंगो विश्वको ध्यानाकर्षण गराउन आग्रह गरिएको उनले बताए।

नेपालले विश्वको १% भन्दा पनि कम मात्र कार्बन उत्सर्जन गर्दा पनि जन्मकैदको सजाय पाएजस्तो ठूलो विपद् र क्षति बेहोर्नु परेको विषय उठाउन सुझाइएको शर्माले उल्लेख गरे।

त्यस्तैगरी शर्माले नेपालले न्यून कार्बन उत्सर्जन गर्ने सम्पूर्ण साना राष्ट्रहरूको नेतृत्व लिनुपर्ने र सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग संयम एवं कूटनीतिक चातुर्यताका साथ गहन संवाद गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको जानकारी दिए।

औपचारिक सम्बोधन मात्र नभई साइडलाइन वार्ता, लबिङ र मुभमेन्टमार्फत पनि नेपालको पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन आग्रह गरिएको उनले बताए।

छलफलमा प्रधानमन्त्री शाहले राष्ट्र संघमा प्रस्तुत गर्ने दस्तावेज विज्ञहरूको गहन सुझाव र तथ्यमा आधारित बनाएको जानकारी गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast