नियात्रा

सत्रझ्याले पाहुनाघर र फर्सीका मुन्टा

राजाराम बर्तौला ९ साउन २०८३ १५:५२ | Saturday, July 25, 2026
2
SHARE
सत्रझ्याले पाहुनाघर र फर्सीका मुन्टा

असारको मध्यदिन टन्टलापुर घामले थाप्लो पोले पनि हामी फुर्तीले हिँडिरहेका थियौँ लेलेको दक्षिण डाँडोमा। टीकाभैरवको मन्दिरलाई बाढीले बगाएपछि नयाँ निर्माणको काम हुँदै रहेछ। भैरवलाई खुसी पार्न कलिलो बोको रेटिँदै थियो। उसको रगतको छिर्काले ढुँगा रंगियो भैरव खुसी भए भएनन् थाहा भएन। परम्परालाई आस्थाको टीको लगाएर हामीले टीकाभैरवको दर्शन गर्‍यौँ।

ढुंगाढुंगामा, माटोमाटोमा र पातपातमा, प्रत्येक जीवको आत्मामा देव र देवीको बास हुने देश हो हाम्रो नेपाल। टीकाभैरवमा अनादिकालदेखि गाडिएर बसेको विशालकाय ढुंगाको पनि परिक्रमा गर्‍यौँ। आस्थाको टेको र परम्पराको मेसो मिलेपछि रीतिले थिति बसाल्ने रहेछ। देवशालाको अर्को कुनामा भक्तिधारामा भजन गाइरहेका भक्तहरू एकाग्रभावले चिन्तनशील थिए।

टीकाभैरवको दर्शन गरेर ठाडो उकालो लाग्दा गाउँले परिवेशको अग्र्यानिक स्वाद चाख्न पाइएला भन्ने सोचेकै थिएनौँ। हामीलाई लागेको थियो सहरले छोएको काँठको हावाले भरिएको लेले अहिले स्वयंमा सहरभन्दा कम छैन। तर जसै रानागाउँको उकालो लागियो घरको बनोट, पिँढी, करेसाबारी, घर साजाउने विभिन्न प्रजातिका फूलले सजिएको रंगीन आँगन देख्दै मनै लोभ्यायो। करेसाबारीमा थाँक्रामा झुन्डिएका कलिला काँक्राका लोभलाग्दा दृश्य, फर्सीका मुन्टाले गाँजिएका बारीको कान्ला, पाखा र पर्खाल देख्दै आनन्द लाग्ने थियो।

बन्दाकोभीका फक्रन लागेका पाटा र सुत्ला लाग्न तयार भएका मकैका बोट लोभलाग्दा थिए। बारीका पाटामा तेस्रिएका र फैलिएका यही फर्सीका मुन्टाजस्तै, आँख्ला आँख्लाबाट फुत्त उठेर पहेँला फुलेका फूलजस्तै फुलेका छन्, उम्रेका छन् उत्साह र फैलिएका छन् किसानका सपना यही माटोमा। कुनै फूलमा कैँडा लाग्छ कुनैमा लाग्दैन। अझै पनि वणिकको वाणिज्य र बनियाँगिरीले प्रवेश पाइनसकेको यो गाउँमा अतिथि देवो भवः को रहलपहल बाँकी रहेछ। सहयात्रीले बारीको थाँक्रामा तुरलुङ्ग झुन्डिएको कांक्रामा देखाएको इच्छा सित्तैँमा पाउने थिएनन्। एउटै मात्र हात थापे होला भनेको त मेरै हातमा पनि एउटा सानो चिचिलो आइपुग्यो।

रानागाउँ काटेपछि आइपुग्छ सिखर्पा गाउँ। सिखर्पा गाउँसम्म मोटरबाटो लगिएको छ। लेलेबाट घुमौरो बाटो लाग्ने हो भने मोटरबाटोबाट सिखर्पासम्म पुगिन्छ। सिखर्पामा पुगेर लेले हेर्दा प्लास्टिकले छोपेको टनेलखेतीको दृश्य देखिन्छ। उम्रिँदै गरेका नयाँ घरको बान्की र बनोट पनि देखिन्छ। अर्थात तीव्र सहरीकरण र जमिनको खण्डीकरण राम्रैसँग देखिन्छ। पश्चिम फर्केर हेर्‍यो भने डोजर विनाशको चरम रूप देखिन्छ। पहाड कोपरेर ढुंगा, गिट्टी, बालुवा निकालेर छोडेको छ्याके जंगलको कुरूप अनुहार देखिन्छ।

सिखर्पाको गाउँ सकिएपछि सल्लाघारीको जंगल सुरु हुन्छ। डाँडाबाट उत्तरपाटो लेले, दक्षिणपाटो कोन्ज्योमसोमको बेसी गाउँ बीचमा नल्लुदेखि टीकाभैरवसम्म तनक्क तन्केको सुलुत्त परेको डाँडोको बाटो सल्लाको सुसेली र बयली खाँदै हामी हिँडिरह्यौँ। बिहान आठ बजे टीकाभैरवबाट सुरु गरेको हाम्रो पदयात्रा नल्लु पुग्दा ११ बजेको थियो। केही हिँडेको छैनौँ भन्दा तीन घण्टा हिँडियो, हिँड्यौँ भनेर भन्दा तल लेलेको पुछारबाट शिरमा बल्ल पुगिएको छ। जंगलको बाटो यस्तै हुने रहेछ कहिले तल कहिले माथि, खोंच, भीर, पाखा हुँदै हिँड्नुपर्ने। कतै काँडाले कोर्ने र कतै लहराले शिरको टोपी उडाउने। कोही नहिँडेको बाटो त्यसैले कठिन हुन्छ, चोट र हण्डर सहेर अगाडि बढ्नुपर्ने हुन्छ। हुन त यो जंगलमा हामी अघि धेरैले विचरण गरे होलान् तर हामीम्रा लागि यो अरण्य अनुपम थियो। सल्लोको छायामा हावाको बयेली खेल्दै हामी नल्लु पुग्यौँ।

सल्लाको पात सल्लिपिरले बाटै ढाकेको छ। बनै ढाकेको छ। यही सल्लिपिरले छोपेर रातो, सेतो, डल्ले, छातेलगायतका विभिन्न प्रजातिका च्याउ बाटैभरि देख्यौं। च्याउ यति ठूला र आकर्षक थिए कि हाम्रा पदयात्रीहरू रमाएर तिनीहरूको तस्बिर लिँदै थिए। हलक्क बढेको यी च्याउ निकै कमजोर हुने रहेछन् छोयो कि ढल्ने। च्याउका लागि उर्वर रहेछ लेले माथिको यो जङ्गल। काठमाडौँको अन्यत्र जंगलमा भेटिएका च्याउभन्दा यो जंगलमा भेटिएका च्याउहरु विशेष किसिमका थिए। सम्भवतः यी च्याउ बिसालु थिएनन्। एकजना पदयात्रीले भेटिएका च्याउमध्ये केही प्रजाति जापानी च्याउ हो भन्दै हुनुहुन्थ्यो।

उकालोमा पहिलो पटक पदयात्रामा आएकी पदयात्री बैंकर सुधा दवाडी भेटिनुभयो। सल्लेरी बनमा सल्लोमा हावा खाँदै गर्दा उहाँलाई लाग्यो पदयात्रा पनि एउटा योग हो, मेडिटेसन हो। प्रकृतिसँग साक्षात्कार हुने र कुण्डलिनी जगाउने अभ्यास। पदयात्रा स्वास्थ्यका लागि मात्र नभएर ध्यान र योगका लागि पनि यो आवश्यक कार्य हो। कुरोको चुरोले भन्दै थियो उहाँ योगाभ्यासी हुनुहुन्छ। उहाँको कुरा चाख लिएर सुन्दै थिएँ, ॐ को चमत्कारी शक्तिको विषयमा चर्चा गर्नुभयो। ॐ प्रकृति हो, ॐ सृष्टि हो, ॐ ब्रह्मा हो, ॐ विष्णु हो र ॐ चरचर जगत्‌का स्वामी सदाशिव हुन् भन्न भ्याउनुभयो। ॐको पाठ योग हो। अ, उ, म् मिलेर ॐ बन्ने हो र ३ को संगम सृष्टि हो। तिनै लोकको हित नै योग हो। उहाँको कुरा सुन्दै बाटो काटियो।

पदयात्रामा यस्तै सहयात्री भेटिँदा मन आनन्दित हुन्छ। अघि उकालोमा झोलामा हालेको काँक्रो पनि बाँडेर खायौँ। उहाँले अनेक मसला, फल र त्रिफला हालेर बनाएको लड्डुको स्वाद बिर्सिनसक्नु थियो। आफ्ना लागि भनेर ल्याउनुभएको मिष्ठान्न बाँडेर खायौँ। सहयात्रा भित्रको सहभोज पदयात्राको अर्को रोमाञ्चक पाटो हो। नल्लु भन्ज्याङ काटेर डोरबहादुर बिष्टको फार्म हाउसको छेउको चउरमा बसेर दिवाभोज नै गर्‍यौँ भन्दा भयो। घरघरबाट शिल्पी हातले बनाएर ल्याएका खानाको परिकार एकएक गर्दै चाख्न पाइयो। मैले लगेको म्युस्ली र दहीमध्ये दही मात्र खान सकियो।

यहाँसम्म पुग्दा आधा बाटो मात्र हिँडेका छौँ हामी। उकालो लागेपछि एउटा बाटो फूलचोकी जान्छ भने अर्को बाटो बीचैबाट भारदेउतर्फ लाग्छ। भारदेउतर्फ लाग्ने बाटो डोजरले खनेको चाँैडा छ। यो बाटो हिँड्दा डोजरे विकासको कुरूप नमुना देखिन्छ। बनाएपछि यो बाटो प्रयोग भएको पनि छैन होला। मोटर गुड्ने गरी सवारीसाधन यो बाटो हिँड्दा पनि हिँड्दैनन्। सरकारी रकमको दुरुपयोगको यो हदसम्मको नमुना अन्यत्र देख्न मुस्किल पर्दछ। हामी लखरलखर हिँड्यौँ। केही बेरको हिँडाइपछि जंगलको झाडी पन्छाएर पनि हिँड्यौँ। हुन त सरकारले बनाइदिएको बाटो पच्छाइरहेका थियौँ। यथार्थमा जंगलको असभ्य वनकाँडासँग जुधेर हिँडिरहेका थियौँ।

हिँड्दै जाँदा भारदेउको सत्रझ्याले पाहुनाघर पुग्यौँ। हुन त यो पाहुनाघर पुग्न सजिलै बाटो गएको भए पनि हुने थियो। तर वनकाँडा पन्छाएर हिँडेर पुग्नुको मज्जा अर्कै थियो। सजिलो बाटो जान्छु भन्दा पनि खहरे तरेर, बगर हिँडेर, डाँडो उक्लिनुपर्ने हो। जङ्गलको बाटो हिँडेर जाँदा पदयात्राको सोपान भिन्न हुने भएको हुँदा हाम्रो रोजाइमा परेको हो।
केही समयदेखि यो सत्रझ्याले पाहुनाघरको निकै चर्चा छ। हत्तपत्त मानिस नपुग्ने सहरको किनारमा नै भएर पनि सहरले बिर्सिएको गाउँ हो भारदेउ। लेलेमा विकास छिरिसक्दा पनि भारदेउमा विकासको हावालाई नल्लुको डाँडोले छेकेको थियो। फूलचोकीको काखमा छ भनेर के गर्नु, कोन्ज्योमसोमको आँखीमा छ भनेर पनि के गर्नु भर्खर विकासले बामे सर्दै छ। यो गाउँ बिहान चार बजे ब्युँझिन्छ र साँझ ६/७ ढोकामा चुकुल ठोकिसक्छ। यही गाउँमा बाजेले बनाएको घरलाई नातिले बाँच्ने कलाले सिँगार्दै छ।

पुरानो पुस्ताले छोडेको धरोहर नयाँ पुस्ताका लागि व्यावसायिक सम्भावनाको साँचो हुन्छ भन्ने यथार्थ कथाहरूको पर्यायवाची रूप सांस्कृतिक धरोहर तीन सहर काठमाडौँको काष्ठकला, वास्तुकला, मूर्तिकला नै काफि छ। चीनले ग्रेटवाल, भारतले ताजमहलको व्यावसायिक प्रयोग गरेकै छ। राज्यले त त्यही धरोहर बचेर खाइरहेछ भने गाउँको एउटा ठिटोले पुर्खाको धरोहरलाई व्यावसायिक प्रयोजनमा प्रयोग गरेर व्यवसाय गर्नु प्रसंशनीय कार्य हो भन्ने लाग्दछ।

सत्रवटा झ्याल भएकैले सत्रझ्याले भनिएको हो। गाउँको त्यो कुनामा यत्तिको कलात्मक झ्याल भएको घर बनाउने मानिस त्यो समय पुगिसरी आएकै हुनुपर्छ। घर कलात्मक तरिकाले सिंगारिएको छ। घरभित्र सुकुल बिच्छ्याइएको छ। पाहुनाले यहाँ रात बिताउन पाउनेछन्। भुइँतला खुला भए पनि माथिल्लो तलामा तीनवटा कोठा निकालिएको छ। काठले बारेको काठो भएको हुँदा प्राइभेसी भन्ने कुरा कठिन नै छ। घरको गारो १८ इन्च भन्दा बाक्लो भएकाले हुनुपर्छ भित्र कोठामा प्रवेश गर्दा शीतल अनुभव हुन्छ। काठको भर्‍याङ चढेर उक्लनुपर्दछ। भुइँतला र चोटाको बीचमा काठको घोप्टे लगाएर बन्द गर्न सकिन्छ। पचार वर्षअघिको समयको जनजीवनको यथार्थ अनुभव गर्न यो पाहुनाघरमा एक रातको बसाइ रोमाञ्चक हुन सक्छ। तर सुगरको रोगीले भने राति तलमाथि गर्दा दुःख पाउन सक्दछ।

म आफू यस्तै घरमा जन्मेको हँु। मैले भुलेको छैन ती काठका दलिन, निदाल र ढुंगाको गारो। आँखीझ्याल, बार्दली र कलात्मक खाँबा। म जन्मेको घर अहिले छैन। यदाकदा जन्मिएको ठाउँमा पुग्ने गर्दा त्यो घरको सम्झना आउँछ। चुनियाँको त्यो विगत मेरो वर्तमान कर्मको साक्षी छ। त्यही विगतलाई अनुभव गर्न यो सत्रझ्याले घरमा भित्र गएर केहीबेर बसेँ। अनभव गरेँ, अनुभूति गरेँ र आत्माविभोेर भएर निस्किएँ।

हामी पुग्दा विदेशी र स्वदेशी पर्यटनकले भरिभराउ थियो यो घर। पदयात्रीले चिसो बियर खान चाहेको अवस्थामा पनि बसेर खान दिने अवस्था नभएको भन्दै पाहुनाघरका सञ्चालक उमेश श्रेष्ठ भन्दै थिए। विनित भावले यस पटक सेवा गर्न सकिएन अर्को पटक है भन्दै हामीलाई बिदा गरे। ट्राउट माछा ल्याउने विचार थियो त्यो पनि उनले दिन सकेनन्।

सत्रझ्यालेलाई अलपत्र छोडेर हामी आफ्नो बाटो लाग्यौँ डहरै डहर। बाटोभरि फर्सीका मुन्टाले टाउको ठाडो पारेर हामीलाई हेरिरहेका थिए। ट्राउट नभए पनि यसैलाई सोहोरौँ कि जस्तो नलागेको होइन, तर लाग्यो फर्सीका मुन्टामा किसानका सपना फिँजिएका हुन्छन्, फैलिएर झाँगिएका हुन्छन्। यिनीहरूलाई अझै फैलन दिनुपर्दछ।

प्रकाशित: ९ साउन २०८३ १५:५२ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast