काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले गत वर्षको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका बीच भदौ २७ ले देशलाई ऐतिहासिक निकास दिएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि देश सामान्य अवस्थामा नरहेको, राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर बनेको र नयाँ नेतृत्व चयनको विषयमा गम्भीर अन्योल सिर्जना भएको उल्लेख गरेका छन्।
गुरुङले तीन दिनसम्म देश शक्ति रिक्तताको अवस्थातर्फ धकेलिएको भन्दै यस्तो परिस्थितिमा राज्यले निकास पाउनुपर्ने आवश्यकता महसुस भएको बताएका छन्। उनका अनुसार भदौ २७ मा देशलाई निकास दिने जिम्मेवारी आफ्नो भागमा परेको थियो।
उनले राष्ट्रपति कार्यालय पुग्दा आफू रगतले लतपतिएको ज्याकेट लगाएको अवस्थामा रहेको र नौ घण्टासम्म प्रतीक्षापछि देशले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको दाबी गरेका छन्।
गुरुङले उक्त घटनालाई हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा र देशलाई निकास दिनुपर्ने साझा चेतनाले निर्माण गरेको परिस्थिति भएको उल्लेख गरेका छन्।
उनले आफूलाई आएको जिम्मेवारी सकेसम्म पूरा गरेको भन्दै कठिन परिस्थितिमा देशले आफूमाथि गरेको विश्वासप्रति कृतज्ञ रहेको बताएका छन्।


