काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकबाट सुझाव संकलन भइरहेको बताएका छन्।
मन्त्री पोखरेलका अनुसार आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने तयारीका साथ ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नयाँ अवधारणाबारे विद्यालय र क्याम्पस तहमा प्रत्यक्ष संवाद भइरहेको छ।
उनले सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी सरोकारवालाको सहभागिता रहेको बताए।
सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मदरसा शिक्षालयमा पुगेर विद्यार्थीसँग संवाद गरेको मन्त्री पोखरेलले बताए।

उनका अनुसार शनिबार मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको छ भने आइतबार सप्तरीबाट मोरङतर्फ कार्यक्रम अघि बढ्नेछ।
मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रम फैलाउने प्रयास भएको दाबी गरे।
उनले आफूहरू राजनीतिक प्रदर्शनका लागि नभई शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तनका लागि प्रत्यक्ष रूपमा काम गर्न मधेश पुगेको बताए।


