सरकारसँग गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?

हिमाल प्रेस ११ साउन २०८३ १८:४५ | Monday, July 27, 2026
16
SHARES
सरकारसँग गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आएको भन्दै सरकारसँग प्रश्न गरेका छन्।

सुनसरीको देवानगञ्ज घटनाबारे सभापति थापाले यस्तो बताएका हुन्।

देवानगञ्ज गाउँपालिकामा गएराति दुई समुदायबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य थप संयमित हुनुपर्ने उनको भनाइ छ।

‘सरकारसँग प्रश्न छ–नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?,’ थापाले विज्ञप्ति निकालेर भनेका छन्,‘सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपथ्र्यो।’

उनले नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु दुःखद रहेको बताएका छन्।

‘परिस्थितिलाई समयमै आकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जानेगरी गोली चल्ने अवस्था सिर्जना हुनु दुःखद छ,’ सभापति थापाले भनेका छन्,‘अतः यस घटनाको तत्काल निष्पक्ष छानबिन, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गरियोस्।’

उनले घाइतेहरूको उपचार तथा मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन ढिलाइ नगर्न सरकारसँग माग गरेका छन्।

सभापति थापाले अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई संवेदनशील ढंगबाट व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

संयमता र सदभाव महत्वपूर्ण रहने भन्दै उनले कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न आग्रह गरेका छन्।

प्रकाशित: ११ साउन २०८३ १८:४५ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast