बुटवल- रुपन्देही प्रहरीले बेलहियास्थित एक होटलमा कलबाइपास सेन्टर चलाएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं-१ स्थित बेलहिया बसपार्कस्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई भिओआईपीका उपकरणसहित गोरखा चुमनुव्री गाउँपालिका-४ का ६२ वर्षीय छिरिङ गुरुङलाइ पक्राउ गरिएको हो।
लामो समयको निगरानी पश्चात् बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा कलबाइपासका उपकरण फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए।
उनका अनुसार भ्वाइस ओभर इन्टरनेट प्रोटोकल भिओआईपी कल बाईपास गर्न प्रयोग गरिएका सामान बरामद गरिएको छ।
सिमकार्ड जडान भएको डिभाईस २ थान, वर्ल्ड लिंक टु जी र फाइभ जी राउटर १ थान, वाइफाइ सिक्स प्लस राउटर र फेरजी फाइभ जी प्लस राउटर १ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान, एसियन कम्पनीको १२ भेल्टको ब्याट्री १ थान, एमेज कम्पनिको ईन्भटर, मल्टिप्लक, भारतीय सिमकार्ड ५६ थान, एनसेल सिमकार्डको खोल ३८ थान, एनटीसिको सिमकार्ड १ थान, आरजे ४५ केवल ३ थान, चाइनिज सिमकार्ड ३ थान, टेवल पंखा, नेपाली १ हजारको नोट ११ थान, भारतीय ५०० को नोट १४ थान, बाग्मती प्रदेश ०-२०-२७ प ९५९७ नं को स्कुटरसहित नेपाली नागरिका र भारतीय निर्वाचन कार्ड बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै, उपकरणसहित पक्राउ परेका गुरुङलाइ रुपन्देही जिल्ला अदालतबाट दूरसंचार ऐन २०५३ को भिओआईपी कल बाइपाससम्बन्धी कसुरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


