मधेशका सांसदहरूसँग रविको के भयो छलफल?

हिमाल प्रेस ३ असार २०८३ १८:३९ | Wednesday, June 17, 2026
14
SHARES
मधेशका सांसदहरूसँग रविको के भयो छलफल?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

पार्टीको प्रदेश अधिवेशन हुन नसकेको विषयमा सभापति लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन्। उनले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूलाई छलफलका लागि बोलाएका थिए।

छलफलका क्रममा सांसदहरूले सदस्यता वितरणका लागि अपनाइएको विधिका कारण कतिपय जिल्लाका साथै मधेश प्रदेश अधिवेशन हुन नसकेको जानकारी गराएका थिए।

फागुन २१ को चुनावमा सफलता हासिल गरेपछि मधेश प्रदेशबाट ठूलो संख्यामा रास्वपाको सदस्यता लिएका छन्। रास्वपाले पार्टीको सदस्यता लिन अनलाईन विधि अपनाएको थियो।

चुनावपछि सदस्यता लिएकाहरूले पनि विभिन्न तहका पदाधिकारीमा दाबी गर्न थालेपछि मधेशमा अधिवेशन सम्पन्न गर्न सकस परेको सांसदहरूले सभापति लामिछानेलाई सुनाएका थिए।

सांसदहरूले चुनावका बेला बनाइएका तदर्थ तथा प्रचारप्रसार समितिलाई जिल्ला, नगर, वडा तहको समिति बनाएर अगाडि बढ्न सुझाव दिएका थिए। चुनावका बेला पार्टीका उम्मेदवारलाई सहयोग नै नगरी नयाँ आएकालाई जिल्ला, नगर वा वडाको जिम्मेवारीमा पठाउँदा पुरानालाई अन्याय हुने उनीहरूको भनाइ थियो।

‘अनलाईनमार्फत ठूलो संख्यामा मानिसहरूले सदस्यता लिएका छन्। उनीहरूमध्ये धेरैको चुनावका बेला पार्टी उम्मेदवारलाई सघाउन कुनै भूमिका नै छैन,’ सभापतिलाई दिएको सुझावबारे छलफलमा सहभागी एक सांसदले भने,‘हामीले चुनवाका बेला बनाइएको प्रचारप्रसार समितिलाई जिम्मेवारी दिनुपर्छ भनेर भनेका छौँ। पार्टीका उम्मेदवारलाई जिताउन भूमिका खेलेका उनीहरूलाई पुरस्कार दिए सरह हुन्छ।’

चुनावका बेला प्रचारप्रसार समिति बनाउँदा मिहिनेत गरेका भन्दा नयाँ सदस्यता लिएकाहरू हाबी हुन खोजेपछि अधिवेशन गराउन समस्या भएको सांसदहरूले सभापति लामिछानेलाई सुनाएका छन्।

छलफलका क्रममा सांसदहरूले प्रदेश सभापति तपेश्वर यादवको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जातपातको राजनीति गरिरहेको गुनासो सांसदहरूले सभापति लामिछानेसँग गरेका थिए।

‘उहाँ संगठनमा मनलाग्दी गर्नुहुन्छ, जातपातको राजनीतिलाई प्रश्रय दिइरहनु भएको छ,’ ती सांसदले भने,‘छलफलमा सहभागी अधिकांश सांसद साथीहरूको यो गुनासो सुनियो।’

यद्यपि सभापति लामिछानेले बुधबार बोलाएको छलफलमा भने प्रदेश सभापति यादव भने अनुपस्थित थिए।

मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भनाइ सुनेपछि सभापति लामिछानेले सहमतिबाट सबै तहका नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए। उनले मधेशका जिल्लाहरूमा अधिवेशन गराउन आफैँ जाने लामिछानेले जानकारी गराएका थिए।

‘सहमतिमै नेतृत्व चयन गर्नुपर्छ, मधेश जिल्लाहरूमा अधिवेशन गराउन म आफैँ जान्छु,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै ती सांसदले भने।

जिल्ला अधिवेशन हुन नसकेपछि असार ७ गतेदेखि हुन लागेको केन्द्रीय महाधिवेशनमा विगतका तदर्थ समितिबाटै प्रतिनिधि छानेर सहभागी गराइने ती सांसदले जानकारी दिए।

मधेशका आठ जिल्लामध्ये पर्सामा मात्रै अधिवेशन सम्पन्न भएको छ। अन्य जिल्लामा अधिवेशन प्रक्रिया सुरू भए पनि विवादका कारण नेतृत्व चयन नगरी स्थगित भएको छ। गुबन्दीका कारण विवाद उत्पन्न हुँदा कतिपय जिल्लामा रास्वपाका कार्यकर्ताहरूबीच कुटाकुटसमेत भएको छ।

प्रकाशित: ३ असार २०८३ १८:३९ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast