काठमाडौँ- नेदरल्यान्ड्सले ट्युनिसियामाथि ३-१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप २०२६ को समूह ‘एफ’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
शुक्रबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलको तेस्रो मिनेटमै ट्युनिसियाका इलएस सखिरीको आत्मघाती गोलबाट अग्रता लिएको नेदरल्यान्ड्सका लागि सातौं मिनेटमा ब्रायन ब्रोबेले दोस्रो गोल थपे।
ट्युनिसियाले ५६औं मिनेटमा हाजेम मस्तुरीमार्फत एक गोल फर्काएर खेलमा फर्कने संकेत दिएको थियो। तर, त्यसको ६ मिनेटपछि जान पल भान हेक्केले नेदरल्यान्ड्सका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोडेको नेदरल्यान्ड्स समूह विजेता बनेको छ। अब उसले नकआउट चरणमा समूह ‘सी’ को उपविजेता मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
यही समूहको अर्को खेलमा जापान र स्वीडेन १-१ गोलको बराबरीमा रोकिँदा जापान ५ अंकसहित उपविजेता तथा स्वीडेन ४ अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुगे।
ट्युनिसिया भने अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ।




