काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले ‘खेललाई बचाउनुहोस्, बाल्यकाललाई बचाउनुहोस्’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय खेल दिवस मनाइएको अवसरमा विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिअनुसार मन्त्रालयले खेललाई बालबालिकाको आधारभूत अधिकारको रूपमा स्वीकार गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ। मन्त्रालयले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा सिर्जनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरेको छ।
सबै विद्यालयमा सुरक्षित तथा समावेशी खेलमैदानको व्यवस्था गर्न, खेलमा आधारित शैक्षिक पाठ्यक्रम विकास गर्न तथा विद्यालय र समुदाय स्तरमा नियमित खेलकुद र मनोरञ्जनात्मक गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरिएको छ।
त्यसैगरी, अपाङ्गता भएका तथा विपन्न बालबालिकाको खेलमा समान पहुँच सुनिश्चित गर्ने, खेलमार्फत बाल संरक्षण, मानसिक स्वास्थ्य र सामाजिक एकता प्रवर्द्धन गर्ने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।
मन्त्रालयले अन्तर्राष्ट्रिय खेल दिवसलाई नेपाल सरकारको आधिकारिक क्यालेन्डरमा समावेश गर्ने सम्बन्धमा समेत सकारात्मक प्रतिबद्धता व्यक्त गरेको छ।




