काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि सुरु भएको पहिलो महाधिवेशनका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री वालेन्द्र शाहको अधिनायकवादी शैली नियन्त्रण गर्न सुझाव दिएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको आजदेखि चितवनमा सुरु हुन लागेको महाधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। जनताले ठूलो विश्वासका साथ प्रदान गरेको दुईतिहाइ जनसमर्थनको सम्मान गर्दै राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समृद्धिका जनआकांक्षा पूरा गर्ने स्पष्ट कार्यनीति र दूरदर्शी कार्यदिशा यस महाधिवेशनले तय गरोस् भन्ने अपेक्षा छ,’ सचिव बस्नेतले भने, ‘साथै, दुईतिहाइको बलमा सत्तामा पुगेपछि बालेन सरकारकमा देखापरेका अधिनायकवादी शैली, प्रतिशोधपूर्ण राजनीति, अराजकतावादी चिन्तन, अवसरवादी प्रवृत्ति तथा पपुलिजमलाई प्रश्रय दिने गतिविधिहरूमाथि नियन्त्रण कायम गर्दै पार्टीलाई जिम्मेवार, लोकतान्त्रिक र जनउत्तरदायी मार्गमा अघि बढाउन रवि लामिछानेको नेतृत्व सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’
दुई दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह, गृहमन्त्री सुधन गुरुङलगायत विभिन्न राजनीतिक दलका नेतृत्व तथा नेताहरू चितवन पुगेका छन्।




