चितवन- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभर तथा प्रवासबाट आएका चार हजार २११ प्रतिनिधिको सहभागिता रहेको छ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेकपाका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत लगायत सहभागी भए। उद्घाटनका क्रममा उपस्थित सबै अतिथिले रास्वपाको चुनाव चिह्न ‘घण्टी’ बजाएर महाधिवेशनको शुभारम्भ गरेका थिए।
रास्वपाले महाधिवेशनका लागि सात प्रदेश, प्रवास, समायोजन तथा मनोनयनबाट गरी चार हजार २११ प्रतिनिधि चयन गरेको छ। पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, सभापतिबाट मनोनित १३८ जना तथा समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनासहित प्रतिनिधिहरू चयन भएका हुन्। प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा बढी ७९४ प्रतिनिधि रहेका छन् भने मधेसबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ र कर्णालीबाट ३४३ प्रतिनिधि सहभागी छन्।
महाधिवेशनको प्रभाव चितवनको पर्यटन तथा होटल व्यवसायमा समेत परेको छ। सामान्यतया असारदेखि भदौसम्म पर्यटकको चहलपहल कम हुने सौराहाका होटलहरू यसपटक महाधिवेशनका कारण भरिभराउ भएका छन्। होटल व्यवसायी संघ चितवनका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, नेताकार्यकर्ता, शुभेच्छुक, सञ्चारकर्मी तथा पर्यवेक्षक गरी करिब १० हजार व्यक्ति चितवन आएका छन्।
क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलियाले बेमौसममा समेत अपेक्षाभन्दा बढी पाहुना आएको बताए। होटल व्यवसायीका अनुसार चितवन र नवलपुरका अधिकांश स्तरीय होटलहरू भरिएका छन्। गत वर्ष यतिबेला करिब ४० प्रतिशत मात्र अकुपेन्सी हुने गरेकोमा यस वर्ष ८० प्रतिशतभन्दा बढी होटल भरिएका छन्।
यसैबीच रास्वपाले महाधिवेशनको निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आइतबार राति प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोमबार उम्मेदवारी दर्ता, दाबीविरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न हुनेछ।
निर्वाचन कार्यक्रमअनुसार असार ९ गते मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदानबाट एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्। सभापति पदका उम्मेदवारका लागि ५१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठन विस्तार, नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




