प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव ठूलो भूल हुन सक्छ : बाबुराम भट्टराई

हिमाल प्रेस ११ असार २०८३ ९:०४ | Thursday, June 25, 2026
18
SHARES
प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव ठूलो भूल हुन सक्छ : बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमार्फत प्रदेशसभा खारेज गर्ने तथा त्यसमार्फत संघीयता कमजोर बनाउने प्रस्ताव गरेको भए त्यो गम्भीर भूल हुने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो कदमले देशमा राजनीतिक, जातीय र क्षेत्रीय तनाव बढाउन सक्ने चेतावनी दिएका हुन्।

भट्टराईले एकातिर सरकारको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने र अर्कोतिर कुनै एक दलले आफ्नो निर्णय अन्य दल तथा समुदायमाथि थोपर्ने प्रयास गरे त्यसले राजनीतिक दल, विभिन्न जातीय समूह र आम जनताबीच गम्भीर विश्वासको संकट उत्पन्न गर्न सक्ने बताएका छन्।

उनले नेपालजस्तो जातीय, राष्ट्रिय र क्षेत्रीय विविधता भएको मुलुकमा लामो संघर्ष र बलिदानपछि निर्वाचित संविधानसभाबाट व्यापक सहमतिका आधारमा स्थापित संघीय व्यवस्थालाई कमजोर बनाउने वा भत्काउने प्रयासले गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले संविधान संशोधनजस्तो संवेदनशील विषयमा अधिकतम राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै पर्याप्त सहमति नबन्दासम्म सुशासन र विकासका मुद्दामा केन्द्रित हुन राजनीतिक दलहरूलाई सुझाव दिएका छन्।

उनले भने, ‘नदुखेको कपाल डोरी लगाएर दुखाउनु भन्दा संविधान संशोधनबारे व्यापक राष्ट्रिय सहमति नबन्दासम्म चूपचाप सुशासन र विकासतिर केन्द्रित हुनु बुद्धिमानी हुनेछ।’

रास्वपा महाधिवेशनले तय गरेका ६ राजनीतिक कार्यदिशा

प्रकाशित: ११ असार २०८३ ९:०४ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast