काठमाडौँ- सहआयोजक मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले पराजित गर्दै फिफा विश्वकपको समूह चरण शतप्रतिशत अंकसहित समाप्त गरेको छ। यो हारसँगै चेक गणतन्त्र प्रतियोगिताबाट बाहिरिएको छ।
मेक्सिकोले यसअघि दक्षिण अफ्रिका र दक्षिण कोरियालाई पराजित गर्दै समूह विजेता बन्ने सुनिश्चित गरिसकेको थियो। त्यसैले प्रशिक्षक जेभियर अगुइरेले अन्तिम समूह खेलमा टोलीमा केही परिवर्तन गरेका थिए।
दोस्रो हाफको सुरुमै लेफ्टब्याक मातेओ चाभेजले उत्कृष्ट संयमता देखाउँदै राष्ट्रिय टोलीका लागि पहिलो गोल गरे। प्रतियोगितामा पहिलो पटक सुरुवाती रोजाइमा परेका किशोर खेलाडी गिल्बर्टो मोराले पनि प्रभावशाली प्रदर्शन गरे।
मोराकै पासमा जर्ज सान्चेज गोलतर्फ अघि बढेका थिए। गोलरक्षक मातेज कोभारले पहिलो प्रयास रोके पनि चेक टोलीको पेनाल्टी क्षेत्रभित्र सिर्जित अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै जुलियन किनोनेसले बललाई जाली चुमाए। विश्वकपमा उनको यो दोस्रो गोल हो।
१७ वर्ष २५३ दिनका मोरा इतिहासमा विश्वकपको खेल सुरु गर्ने छैटौँ सबैभन्दा कान्छा खेलाडी बने। मेक्सिकोका लागि पुरुष विश्वकपमा सुरुआती रोजाइमा पर्ने उनी सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन्।
७२औँ मिनेटमा मैदानबाट बाहिरिँदा मोराले दर्शकबाट भव्य सम्मान पाए। उनको स्थानमा आएका अल्भारो फिडाल्गोले १५ यार्ड टाढाबाट आकर्षक गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे।
खेलका गोलहरू जत्तिकै चर्चित क्षण मेक्सिकोका ४० वर्षीय अनुभवी गोलरक्षक गुइलेर्मो ओचोआ मैदान प्रवेश गर्दा देखियो। उनलाई वैकल्पिक खेलाडीका रूपमा मैदान पठाउँदा एस्टेका रंगशालामा दर्शकले ठूलो स्वागत गरेका थिए।
ओचोआ आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्। यससँगै उनले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको कीर्तिमान बराबरी गरेका छन्। यद्यपि उनले सन् २००६ र २०१० का विश्वकपमा खेल्ने अवसर पाएका थिएनन्।
मेक्सिकोले अन्तिम ३२ चरणमा उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोलीमध्ये एकसँग जुलाई १ मा मेक्सिको सिटीमा खेल्नेछ। चेक गणतन्त्र भने तीन खेलबाट एक अंक जोड्दै समूह ‘ए’ को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।




