ट्रमा बन्डिङ र नेपाली कांग्रेस

गोपाल झा ७ जेठ २०८३ १६:०५ | Thursday, May 21, 2026
ट्रमा बन्डिङ र नेपाली कांग्रेस

अन्तर्राष्ट्रिय इन्स्टिच्युट अफ ट्रमा एन्ड एडिक्सन प्राफेसनलका संस्थापक प्याट्रिक कार्नसले सन् १९९७ तिर आफ्नो अनुसन्धानका क्रममा ट्रमा बन्डिङ (Trauma Bonding) भन्ने अवधारणा अघि सारेका थिए।
सन् १९४४ मा अमेरीकामा जन्मेका कार्नसका अनुसार कुनै व्यक्ति वा समूहले आफूलाई निरन्तर पीडा, अन्याय वा उपेक्षामा राखे पनि त्यही सम्बन्ध वा संस्थासँग भावनात्मक रूपमा बाँधिइरहने अवस्थालाई ट्रमा बन्डिङ भनिन्छ। उनको प्रसिद्ध पुस्तक द विट्रेयल वन्डमा यसबारे उनले विस्तारमा व्याख्या गरेका छन्। यस सम्बन्धमा पीडितले सम्बन्धको विषाक्तता बुझ्दाबुझ्दै पनि त्यसबाट भिन्न हुन सक्दैन। उनले यस्तो अवस्थालाई असमान्य त माने र यो एक प्रकारको लतको अवधारणा हो भनी आफ्नो अनुसन्धानमा उल्लेख गरेका छन्।

राजनीतिमा पनि यस्तो मनोविज्ञान देखिन्छ। विशेषतः नेपालका पुराना दलहरूमा लाखौँ नेताकार्यकर्ता तथा शुभचिन्तक यस्ता छन्, जसले अवसरबाट वञ्चित हुँदा पार्टीभित्र अन्याय सहँदा वा नेतृत्वबाट अपमानित हुँदा पनि पार्टी नछोड्ने प्रवृत्ति देखाएका छन्। उनीहरू वैचारिक, भावनात्मक र ऐतिहासिक रूपमा पार्टीसँग यसरी बाँधिएका हुन्छन् कि पार्टीभित्र सबै सहेर बसेका हुन्छन् र यथास्थितिबाट उम्किन सकिरहेका हुँदैनन्। नेपाली कांग्रेसभित्र पनि यो प्रवृत्ति बलियो रूपमा विद्यमान छ।

पछिल्लो आमनिर्वाचन यसको एउटा स्पष्ट उदाहरण हो। राष्ट्रिय स्वतन्त्र पार्टीको लहर तीव्र हुँदाहुँदै पनि नेपाली कांग्रेसले समानुपातिकतर्फ करिब १७ लाख मत पायो। कुनै बेला झन्डै ३८ लाखसम्म मत प्राप्त गरेको तुलनामा ठूलो गिरावट भए पनि त्यो मत पूर्ण रूपमा वैचारिक समर्थन हराइसकेको संकेत थिएन। ती मतदातामध्ये ठूलो हिस्सा अझै पनि कांग्रेससँग भावनात्मक रूपमा जोडिएको देखिन्छ। अर्थात्, कांग्रेसप्रतिको असन्तुष्टि हुँदाहुँदै पनि उनीहरूले अन्तिम क्षणमा कांग्रेसलाई रोजे। यो ‘ट्रमा बन्डिङ’ को राजनीतिक रूप हो।

यस्ता मतदातालाई सधैँ स्वाभाविक रूपमा आफ्नो पक्षमा रहने मान्नु घातक भ्रम हुन सक्छ। किनभने समय निक्कै अगाडि कढिसकेको छ र नयाँ पुस्ता अघिल्लो पुस्ता जस्तो अन्धनिष्ठावान् छैन। उनीहरू वैचारिक रूपमा स्वतन्त्र छन्, अवसरवादी होइनन् तर आलोचनात्मक छन्। उनीहरू कुनै दलसँग स्थायी रूपमा टाँसिनुभन्दा परिणाम र व्यवहार हेरेर निर्णय गर्न रुचाउँछन् जुन फागुन २१ गते भएको आमनिर्वाचनको परिणामले उजागर गरीसकेको छ।

नेपाली कांग्रेसको सबैभन्दा ठूलो समस्या प्रतिपक्षी दल होइन, आन्तरिक विभाजन हो। पुस २७ र २८ गतेमा सम्पन्न विशेष महाधिवेशनपछि संस्थापन र इतर पक्षबीचको शक्तिसंघर्ष झन् गहिरिएको देखिन्छ। सार्वजनिक अभिव्यक्ति, गुटगत रणनीति, एकअर्कामाथिको आरोपप्रत्यारोप तथा राजनीतिक भागबन्डाको विवादले पार्टीलाई कमजोर बनाएको छ।

नेपाली कांग्रेसले के बुझ्नु जरुरी छ भने समस्या नेतृत्वको प्रतिस्पर्धा होइन; समस्या पार्टीको सामूहिक ऊर्जा गुटगत संघर्षमा खर्चिनु हो। जुन अहिले सतहमै देखिन थालेको छ। यस्तो अवस्थामा जनतामा कांग्रेसप्रति विश्वास कमजोर हुन्छ र युवाहरु त झन् टाढिने अवस्था छ। पार्टीको केन्द्रमा सरकार छैन तर प्रदेश सञ्चालन गरिरहेको भए पनि जनताले कांग्रेसलाई स्थिर, आत्मविश्वासी र दूरदर्शी शक्तिका रूपमा पाउन सकेका छैनन् र यसमा वर्तमान नेतृत्व चुकेको छ।

नेतृत्व तहमा देखिने अविश्वास तल्लो तहसम्म फैलिएको छ र कार्यकर्ता अन्योलमा छन्। वैचारिक बहसभन्दा पद र शक्ति केन्द्रित राजनीति हावी भएको आरोप बलियो बन्दै गएको छ जसको लाभ अन्य शक्तिहरूले लिइरहेका छन्।

नेतृत्वपंक्तिले के बुझ्नुपर्छ भने नेपालको बहुदलीय लोकतान्त्रिक आन्दोलनको मुख्य संवाहक शक्तिका रूपमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका छ। लोकतन्त्र, प्रेस स्वतन्त्रता, संवैधानिक शासन र उदार राजनीतिक संस्कृतिका पक्षमा उभिएको दल कमजोर हुनु एउटा पार्टीको संकट होइन, लोकतान्त्रिक संस्कृतिको पनि चुनौती हो। वामपन्थी शक्तिहरू अहिले कमजोर र दिशाहीन देखिएका छन्। नयाँ दल र वैकल्पिक शक्तिहरू उदाउँदै छन्। तर उनीहरूमा अझै दीर्घकालीन राजनीतिक संस्कार, संस्थागत स्थायित्व र शासन अनुभवको अभाव देखिन्छ। यसको अर्थ नयाँ शक्तिहरू आवश्यक छैनन् भन्ने होइन। तर नेपालको जटिल भूराजनीतिक अवस्था हेर्दा परिपक्व, लोकतान्त्रिक संस्कार बोकेको, संस्थागत अनुभव भएको दलको आवश्यकता अझै कायम छ। नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक केन्द्र पनि कमजोर हुने जोखिम रहन्छ जुन कालान्तरमा गएर समग्र देशको लागि घातक साबित हुन सक्छ।

युवा पुस्ता विगतका पुस्ताभन्दा भिन्न छ। उनीहरू भावनात्मक निष्ठाभन्दा कार्यसम्पादन, पारदर्शिता, इमानदारी र नेतृत्व शैलीलाई प्राथमिकता दिन्छन्। उनीहरूलाई इतिहास सुनाएर वा आन्दोलनको गौरव सम्झाएर लामो समय बाँधेर राख्न सकिँदैन। उनीहरु हरेकपल उचित अवसरका लागि चिन्तन गर्ने पुस्ता हुन् जो भाषणभन्दा व्यावहारिक संवादमा विश्वास गर्छन्।

युवाहरूमा देशप्रति माया छ, लोकतन्त्रप्रति चासो छ, तर परम्परागत दलहरूप्रति निराशा पनि गहिरो छ। उनीहरू अवसर खोजिरहेका छन्– संलग्न हुने, सुन्ने र नेतृत्व गर्ने अवसर।

कांग्रेसले विगतमा जस्तो युवालाई नाराबाजी वा भीड व्यवस्थापनको साधन बनाइरह्यो भने नयाँ पुस्ता स्थायी रूपमा टाढिन सक्छ। अहिलेको युवा कुनै पनि दलसँग स्थायी ट्रमा बन्डिङमा बस्ने मानसिकतामा छैन। उनीहरू निरन्तर विकल्प खोज्ने पुस्ता हुन्।

कांग्रेसले चुनावी हार वा मत घट्नुको कारण गठबन्धन वा बाह्य परिस्थिति भनेर टार्न मिल्दैन। पार्टीले आफ्नो विचार, संगठन र नेतृत्व शैलीबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्छ।

संस्थापन र इतर दुवैले पार्टीलाई व्यक्तिगत शक्ति संघर्षको मैदान बनाउने प्रवृत्ति त्याग्नुपर्छ र यसमा नेतृत्वपंक्तिले त झन फराकिलो छाती देखाउनु जरुरी छ। पार्टी कमजोर हुँदा कुनै गुट बलियो हुँदैन भन्ने यथार्थ स्वीकार गर्न आवश्यक छ। युवालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ। डिजिटल राजनीति, नीति बहस, स्थानीय नेतृत्व विकास र मेरिट आधारित अवसर सिर्जनामा जोड दिनुपर्छ। यसका साथै दशकौँ संघर्ष गरेका कार्यकर्ताको सम्मान र योगदानको कदर आवश्यक छ। पार्टीले उनीहरूलाई विस्थापित होइन, मार्गदर्शक भूमिकामा रूपान्तरण गर्नुपर्छ। यसका साथै नयाँ दलहरूको उदयलाई केवल खतरा मान्नु गलत हुनेछ। कांग्रेसले नयाँ पुस्ताको भाषा, शैली र अपेक्षाबाट सिक्नुपर्छ।

नेपाली कांग्रेस अहिले संगठनात्मक संकटमा छैन; यो मनोवैज्ञानिक, वैचारिक र पुस्तान्तरणको संक्रमणकालमा छ। लामो समयदेखि पार्टीसँग भावनात्मक रूपमा बाँधिएका मतदाता र कार्यकर्ता अझै पनि कांग्रेससँग छन्, तर त्यो सम्बन्ध अनन्तकाल टिक्ने निश्चित छैन अर्थात् ट्रमा बन्डिङले अब काम गर्नेवाला छैन ।

कांग्रेसले समयमै आत्मसुधार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र संगठनात्मक पुनर्संरचना गर्न सकेन भने भविष्यमा मत घट्ने होइन, आफ्नो ऐतिहासिक केन्द्रीयता गुमाउने जोखिम छ।
पार्टीले आफ्ना कमजोरी स्वीकार गरेर नयाँ पुस्तालाई समेट्दै लोकतान्त्रिक संस्कारको नेतृत्वदायी भूमिका पुनः स्थापित गर्न सक्यो भने नेपाली कांग्रेस अझै पनि नेपालको लोकतान्त्रिक भविष्यको प्रमुख आधार बन्न सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast