एआईको प्रभाव : स्ट्यान्डर्ड चार्टर्डसहित विश्वका ठूला कम्पनीमा व्यापक रोजगारी कटौती

हिमाल प्रेस ५ जेठ २०८३ १४:५४ | Tuesday, May 19, 2026
14
SHARES
एआईको प्रभाव : स्ट्यान्डर्ड चार्टर्डसहित विश्वका ठूला कम्पनीमा व्यापक रोजगारी कटौती

काठमाडौँ- बैंकिङ क्षेत्रको ठूलो कम्पनी स्ट्यान्डर्ड चार्टर्डले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै जाँदा ठूलो संख्यामा रोजगारी कटौती गरेको छ।

बेलायतमा मुख्यालय रहेको उक्त कम्पनीले सन् २०३० सम्ममा आफ्ना १५ प्रतिशतभन्दा बढी अर्थात् करिब सात हजार आठ सय प्रशासनिक तथा सहायक पदहरू कटौती गर्ने जनाएको छ।

बीबीसीका अनुसार स्ट्यान्डर्ड चार्टर्डले प्रभावित केही कर्मचारीलाई कम्पनीभित्रै अन्य भूमिकामा सार्ने योजना पनि बनाएको छ।

विश्वभरका कम्पनीहरूले पछिल्ला महिनामा मानवद्वारा गरिने काममा एआई उपकरणहरूको प्रयोग बढाउँदै जाँदा ठूलो संख्यामा रोजगारी कटौतीको घोषणा गरिरहेका छन्।

कम्पनीले कुन–कुन स्थानका पदहरू कटौती गरिने हो भन्ने विस्तृत जानकारी दिएको छैन। यसको भारत, चीन, मलेसिया र पोल्यान्डमा ठूला कार्यालय सञ्चालनमा छन्।

कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘हामी प्रक्रियाहरूलाई सरल बनाउन, निर्णय क्षमतालाई सुधार गर्न तथा ग्राहक सेवा र आन्तरिक कार्यक्षमता दुवै बढाउन स्वचालन, उन्नत विश्लेषण र कृत्रिम बौद्धिकताको व्यावहारिक प्रयोग विस्तार गरिरहेका छौँ।’

यो कदम एसिया र अफ्रिका केन्द्रित बैंकका प्रमुख कार्यकारी बिल विन्टर्सको पछिल्लो विश्वव्यापी रणनीतिको हिस्सा हो। यस घोषणासँगै कम्पनीको नाफा बढाउने योजनाहरू पनि सार्वजनिक गरिएको छ।

पूर्व गुगल प्रमुख कार्यकारी एरिक स्मिटले एआईको उल्लेख गर्दा स्नातकहरूबाट विरोध सामना गर्नुपरेको थियो।

स्ट्यान्डर्ड चार्टर्ड एआईका कारण मानवद्वारा गरिने काम घटाउने पहिलो वित्तीय संस्था होइन।

फेब्रुअरीमा सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसले आगामी तीन वर्षमा करिब चार हजार करार तथा अस्थायी पदहरू कटौती हुने अनुमान गरेको थियो।

एआईसँग सम्बन्धित ठूलो संख्यामा रोजगारी गुम्ने सम्भावनाले विशेषगरी प्रविधि क्षेत्रका कामदार र स्नातकहरूलाई गम्भीर असर पार्ने अपेक्षा गरिएको छ।

एआई प्रविधि निर्माणमा ठूलो लगानी गरिरहेका धेरै ठूला प्रविधि कम्पनीहरूले यस वर्ष व्यापक रूपमा कर्मचारी कटौती गरिरहेका छन्।

अप्रिलमा फेसबुकको मूल कम्पनी मेटाले एआई परियोजनामा बढ्दो खर्चका कारण हजारौँ रोजगारी कटौती गर्ने घोषणा गरेको थियो।

कम्पनीले कर्मचारीलाई आफ्नो कुल कार्यबलको १० प्रतिशत झण्डै आठ हजार कर्मचारी-कटौती गर्ने योजना बनाएको बताएको थियो। साथै पहिले खुला रहेका हजारौँ पद पनि पूर्ति नगरिने जनाएको थियो।

अमेजनले जनवरीमा ३० हजारभन्दा बढी कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो भने ओरेकलले १० हजारभन्दा बढी कर्मचारी हटाएको थियो।

प्रकाशित: ५ जेठ २०८३ १४:५४ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast