काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ पर्साले सामुदायिक विद्यालयमा कार्यरत विभिन्न कर्मचारी तथा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को उमेर हद ६० वर्ष कार्यान्वयन गर्न स्थानीय तह र विद्यालयहरूलाई निर्देशन दिएको छ।
एकाइ प्रमुख विद्यानन्द प्रसाद यादवद्वारा जारी पत्रमा सर्वोच्च अदालतको मिति २०८१/०९/१७ को आदेशअनुसार ०७८-WO-०८६० निवेदन खारेज भएको उल्लेख गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७८/०६/१९ गतेको निर्देशन कार्यान्वयन गर्न आग्रह गरिएको हो।
केन्द्रले यसअघि नै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय प्रशासन, लेखा कर्मचारी, सहयोगी कर्मचारी, अस्थायी करार कर्मचारी, प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता तथा सामुदायिक सिकाइ केन्द्रका परिचालिकाको सेवामा रहने अधिकतम उमेर हद शिक्षकसरह ६० वर्ष कायम गर्ने निर्णय गरेको थियो।
शिक्षा प्रणालीमा सरकारको नयाँ ढाँचा, कक्षा ११ को भर्ना असार १ देखि
त्यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ तथा अन्य सरकारी निकायमा कार्यरत कार्यालय सहयोगी, पाले, चालक तथा सरसफाइकर्मीको उमेर हद भने निजामती कर्मचारीसरह ५८ वर्ष कायम हुने उल्लेख गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णय तथा यसअघिको मन्त्रीस्तरीय निर्णयका आधारमा जारी निर्देशन अब कार्यान्वयनमा लैजान स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको इकाइले जनाएको छ।




