ईसीडी शिक्षकको पारिश्रमिक बढाउन सांसद गौतमको माग

हिमाल प्रेस ६ जेठ २०८३ १०:४३ | Wednesday, May 20, 2026
290
SHARES
ईसीडी शिक्षकको पारिश्रमिक बढाउन सांसद गौतमको माग

काठमाडौँ- सांसद राजन गौतमले सामुदायिक विद्यालयमा शिक्षक अभाव र असन्तुलित दरबन्दी व्यवस्थापनका कारण संविधानले सुनिश्चित गरेको नि:शुल्क शिक्षा व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८३/८४ माथिको छलफलमा सहभागी हुँदै गौतमले राज्यले नि:शुल्क शिक्षा भने पनि विद्यालय सञ्चालन गर्न अभिभावकसँग विभिन्न शीर्षकमा शुल्क लिनुपर्ने बाध्यता अझै अन्त्य हुन सकेको छैन भन्ने धारणा राखे।

उनले शिक्षा क्षेत्रमा गरिएको लगानीलाई खर्च नभई राष्ट्र निर्माणको दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने उल्लेख गर्दै संविधानको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य तथा नि:शुल्क शिक्षा र माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको मौलिक हक सुनिश्चित गरेको स्मरण गराए।

गौतमले शिक्षा मन्त्रालयकै तथ्यांक अनुसार प्राथमिक तहमा २० हजारभन्दा बढी तथा माध्यमिक तहमा झण्डै २२ हजार शिक्षक दरबन्दी अपुग रहेको बताए। उनले भने,‘ विद्यार्थी संख्या धेरै भएका विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्नुपर्ने बाध्यता छ, यही कारण विद्यालयहरूले अभिभावक सहयोग, शैक्षिक सहयोगलगायत शीर्षकमा रकम उठाउनुपरेको अवस्था छ।’

उनले आगामी आर्थिक वर्षमै शिक्षक दरबन्दीको वैज्ञानिक मिलान गर्न सरकारसँग माग गर्दै यदि संविधान र नीति तथा कार्यक्रमको मर्मअनुसार वास्तविक नि:शुल्क शिक्षा सुनिश्चित गर्ने हो भने दरबन्दी व्यवस्थापन सुधार अनिवार्य रहेको बताए।

सांसद गौतमले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरूको अवस्था पनि दयनीय रहेको बताए। उनले भने, ‘राज्यले उपलब्ध गराएको न्यून पारिश्रमिकमा ईसीडी शिक्षकहरू काम गर्न बाध्य छन्, धेरै स्थानीय तहले थप सुविधा नदिँदा एउटै विद्यालयभित्र पनि सेवासुविधामा विभेद देखिएको छ।’ उनीहरूको उचित पारिश्रमिक र सम्मानजनक व्यवस्थापन सुनिश्चित गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

उनले नीति तथा कार्यक्रमको बुँदा नम्बर ४८ मा उचित पारिश्रमिक सुनिश्चित गरिने उल्लेख गरिएको स्मरण गराउँदै आगामी बजेटमार्फत ईसीडी शिक्षकहरूको अवस्था सुधार गर्न आग्रह गरे।

सांसद गौतमले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सकारात्मक रहेको उल्लेख गर्दै अर्थ मन्त्रालयलाई धन्यवादसमेत दिए।

संसदमा गौतमले शिक्षा क्षेत्रका समस्या र सुधारका प्रस्तावहरू राखिरहँदा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले गम्भीर रूपमा सुनिरहेका देखिन्थे। उनले सांसद गौतमका भनाइ टिपोटसमेत गरेका थिए।

प्रकाशित: ६ जेठ २०८३ १०:४३ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast