अवतरण लगत्तै विमानबाट कसरी निस्कियो धुवाँ?

हिमाल प्रेस २८ वैशाख २०८३ १४:०४ | Monday, May 11, 2026
16
SHARES
अवतरण लगत्तै विमानबाट कसरी निस्कियो धुवाँ? काठमाडौँमा अवतरणका क्रममा आगलागी भएपछि यात्रुहरूलाई सुरक्षित रूपमा उद्धार गरिएपछि देखिएको टर्किस एयरलाइन्सको विमान। तस्बिर : एपी/रासस

काठमाडौँ- टर्किस एयरलाइन्सले हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण विमानको ल्यान्डिङ गियरबाट धुवाँ निस्किएको जनाएको छ।

टर्किस एयरलाइन्सका प्रवक्ता याह्या उस्तुनका अनुसार टीसी-जेएनपी दर्ता नम्बर भएको एयरबस ए–३३० विमान सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य रूपमा अवतरण गरेको थियो। तर टीके–७२६ उडानमार्फत इस्तानबुलबाट काठमाडौँ आएको उक्त विमान ट्याक्सिङ गरिरहेका बेला ल्यान्डिङ गियरबाट धुवाँ निस्किएको थियो।

उस्तुनले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा भनेका छन्, ‘प्रारम्भिक जाँचले हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण धुवाँ निस्किएको देखाएको छ।’

उनका अनुसार विमानस्थल टावरका अधिकारीहरूको निर्देशनअनुसार सावधानीस्वरूप यात्रुहरूको उद्धार गरिएको हो।

‘टावर टोलीको निर्देशनअनुसार आकस्मिक स्लाइड प्रयोग गरेर यात्रुहरूको उद्धार गरिएको थियो। उद्धार प्रक्रिया सफलतापूर्वक सम्पन्न भयो र कुनै पनि घाइते भएको विवरण प्राप्त भएको छैन,’ उनले उल्लेख गरेका छन्।

उस्तुनका अनुसार विमानको प्राविधिक परीक्षण सम्बन्धित टोलीले सुरु गरिसकेको छ। यात्रुहरूको फर्कने यात्राका लागि थप उडानको व्यवस्था गरिएको पनि एयरलाइन्सले जनाएको छ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानको दायाँ पछाडिको टायरमा आगलागी भएको जनाएको थियो। विमानलाई ट्याक्सीवेमा लैजानुअघि आगो नियन्त्रणमा लिइएको थियो।

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द गरिएको थियो। विमानमा रहेका २७७ यात्रु र ११ चालक दलका सदस्यलाई आकस्मिक ढोकामार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। क्यान र टर्किस एयरलाइन्सका अनुसार घटनामा कोही पनि घाइते भएका छैनन्।

प्रकाशित: २८ वैशाख २०८३ १४:०४ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast