काठमाडौँ- सरकारले महिलाहरूका लागि आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गरे।
आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त एवं खाल्टाखुल्टीमुक्त बनाउने भन्दै उनले सडकको राष्ट्रव्यापी मर्मतसम्भार अभियानका रूपमा सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।
राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने र पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सञ्चालन गर्न तीन अर्ब सत्र करोड विनियोजन गरेको उनले बताए। उनले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने, यसै वर्ष कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुने र आगामी वर्ष काकड़भिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङे र धानखोला–लमही खण्ड अन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गर्ने जानकारी दिए।
त्यस्तै सरकारको बजेटमा पूर्वपश्चिम राजमार्गको लागि सैँतीस अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ भने काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा आगामी वर्ष चालिस वटा पुल र पाँच दशमलव चार किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने उल्लेख छ।
त्यसैगरि काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की–वसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्ने, वसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्ने र टोखा–छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने मन्त्री वाग्लेले बताए।




