काठमाडौँ- फिल्म ‘लालीबजार’ को प्रदर्शनको बाटो खुलेको छ। आज (बुधबार) उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले रोशनी नेपालीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदर्शनको बाटो खुलेको हो।
अदालतको आदेशसँगै ‘लालीबजार’को प्रदर्शन वैशाख २५ गतेदेखि हुने भएको छ। फिल्ममा नायिका स्वस्तिमा खड्काको मूख्य भूमिका छ।
खड्काले सामाजिक सञ्जाल फेसबुकमा अदालतको आदेशपछि ‘लालीबजार’को बाटो खुलेको बताएकी छन्। ‘छोरीका लागि आमाले गर्ने संघर्षको कथामा आधारित यस फिल्मलाई दर्शकमाझ ल्याउन हामी तयार छौँ। आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि, तपाईंले यो फिल्म आफ्नो नजिकको सिनेमा घरमा हेर्न सक्नुहुनेछ,’ उनले लेखेकी छन्, ‘यस फिल्मको उद्देश्य कुनै पनि समुदाय वा वर्गलाई ठेस पुर्याउनु थिएन र होइन। हामीले आमा र छोरीबीचको सुन्दर र मन छुने भावनात्मक कथा प्रस्तुत गरेका छौँ। हामी हलमा तपाईंहरूसँग भेट्न र साक्षात्कार गर्न आतुर छौं। छिट्टै सिनेमा घरमा भेटौँ।’
यसअघि वैशाख १५ गते उच्च अदालत पाटनले अल्पकालीन आदेश दिँदै प्रदर्शनमा रोक लगाएको थियो।
चलचित्र वादी समुदायसँग सम्बन्धित छ। त्यसमा वादी समुदायको आत्मसम्मानमा आघात पुग्ने, साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द–चित्रहरू भएको भन्दै फिल्मविरुद्ध रोशनी नेपालीले रिट दयर गरेकी थिइन्।



