काठमाडौँ- स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’को प्रदर्शन रोकिएको छ। उच्च अदालत पाटनले २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएसँगै ‘लालीबजार’ बजारमा आउने अन्योलता छ। यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो।
अदालतको निर्णयप्रति कलाकर्मी आक्रोशित छन्। कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि भन्दै उनीहरू माइतीघर मण्डलामा बुधबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
लालीबजारलाई प्रदर्शन गर्न सेन्सर बोर्डले पनि अनुमति दिएको थियो। यदि फिल्म रोक्नु परे सेन्सर बोर्डले रोक्नुपथ्र्यो। तर सेन्सर बोर्डले सबैले हेर्न मिल्ने भन्दै प्रमाणपत्र दिएपछि अदालतले रोकेको हो। फिल्म प्रदर्शन रोकिएपछि निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्न माग गरेका छन्।
बस्नेतले लेखेका छन्, ‘सम्माननीय अदालतको आदेश नमान्ने कुरै भएन, आदेश सबैले मान्नुपर्छ । तर कुरा जब फिल्मको र फिल्मकर्मीहरूको आउँछ तब फिल्म केका लागि बनाइन्छ, कसरी बनाइन्छ भन्ने कुरा पनि बुझ्नुपर्छ होला । एकतर्फी रूपमा मात्रै हेरेर यसरी नै रिलिजको मुखैमा मुद्दा पर्दै अदालतले निर्णय गर्दै जाने हो भने चलचित्रकर्मीको मनोबल त गिर्छ नै, एकचोटि हैन बारम्बार।’ कलाकारले सेन्सर बोर्डपछि पनि सेन्सर लागेको बताउने गरेका छन्। फिल्मले बादी समुदायलाई नराम्रो देखाएको भन्दै रोक्न माग गरिएको थियो।
डा. रोशनी नेपाली बादीले फिल्ममा समेटिएको विषयवस्तुमा आपत्ति प्रकट गरेकी छन्। डा. रोशनीका अनुसार यो फिल्मले देश–विदेशमा रहेका बादी युवाहरूलाई मानसिक तनाव र डिप्रेसनमा धकेलेको छ।कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा, गणेशदेव पाण्डेलगायतको उपस्थितिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले कलाको स्वतन्त्रताको पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘सिनेमा बोलेस, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्’, ‘सिनेमा–साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’, ‘संविधानले दिएको सम्मान–हाम्रो अडान, सबै जात, धर्म, समुदाय–हामी सचेत सधैं जान’जस्ता नारा प्लेकार्डमा उल्लेख थिए । पाटन उच्च अदालतले मंगलबार चलचित्र ‘लालीबजार’को प्रदर्शन २२ वैशाखसम्मका लागि रोक लगाउने आदेश दिएको थियो।
यम थापा निर्देशित उक्त फिल्म १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो । फिल्मका केही शब्दहरूले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै सो समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अस्थायी आदेश जारी गरेको हो।
षट्कोण आर्ट्सले निर्माण गरेको ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथामा आधारित फिल्म हो। सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिएको थियो ।




